काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थामा उभिएर मुलुकको भाग्य र भविष्य कोर्ने जिम्मेवारी युवाहरूको काँधमा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवाहरूलाई उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा सक्रिय हुन आग्रह गर्दै भने, ‘यो समयको माग हो कि युवा उद्यमशीलता मार्फत देशको समृद्धिमा योगदान दिनुपर्छ ।’
राष्ट्रपतिले विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विस्तार भएको आधुनिक युगमा युवा पुस्ताले विकास, सुशासन र समृद्धिको सपना पूरा गर्ने मुख्य भूमिका खेल्नुपर्ने बताए । उनले युवाको विदेश पलायन रोक्न र उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षित गर्न उद्यमशीलता विस्तार र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन र सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै सरकारले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, युवामैत्री लगानी वातावरण निर्माण गर्ने तथा नवप्रवर्तन र उद्यमशीलता विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले युवा वर्गलाई देश विकासको मुख्य शक्ति मानेर स्वदेशमै रोजगारी सिर्जना गर्न र समृद्ध नेपालको निर्माणमा योगदान दिन आह्वान गर्दै समृद्धि र सुशासनको यात्रा युवाहरूकै सक्रिय सहभागितामा सम्भव हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया