काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले जलवायु स्मार्ट कृषि प्रविधि, बीउबिजन, अनुसन्धान, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्तीय समावेशीकरण, सहुलियत ऋण, बीमा तथा कृषक कोष स्थापना लगायत कार्यक्रममार्फत पारिवारिक खेती प्रवर्द्धन गर्नुपर्ने बताए ।
उनले नेपालका पहाडी र पर्वतीय क्षेत्रका कृषि अनुभवले जलवायु अनुकूलन र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्त्वपूर्ण सूचना प्रदान गर्न सक्ने बताए । साथै, साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन कृषि उपजमा करमा लचकता अपनाउन र न्यायसंगत व्यापार प्रवर्द्धनमा सामूहिक वकालत गर्नुपर्ने बताए ।
मन्त्री अधिकारीले भने, ‘पारिवारिक खेती प्रणालीलाई समावेशी र ग्रामीण रूपान्तरणको प्रमुख घटक तथा जलवायु परिवर्तनको चुनौतीबिच दिगो विकासको आधार स्तम्भका रूपमा विकास गर्न आवश्यक छ। नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिबद्धता लिएर अघि बढेको छ ।’
उनले क्षेत्रीय साझेदारी, नीति निर्माण र सर्वोत्तम अभ्यास आदानप्रदानमा सक्रियता आवश्यक रहेको समेत औँल्याए। साथै, प्रादेशिक र स्थानीय तहमा कृषि व्यवसाय इन्क्युबेसन केन्द्र स्थापना गरी किसानहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
यस कार्यक्रममार्फत मन्त्री अधिकारीले पारिवारिक खेतीलाई सम्मानजनक र दिगो पेसाका रूपमा स्थापित गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका खेल्न अनुरोध पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया