महालक्ष्मी विकास बैंकका कर्मचारीले ग्राहकको पैसाले जुवा खेले

भल्टमा राखिएको भनिएको २ करोड ८४ लाख ७६ हजार रुपैयाँ गायब !

लोकपथ
574
Shares

काठमाडौं । बैंकलाई सुरक्षित स्थान मानिन्छ । बैंकमा राखिएको नगद वा जिन्सी सुरक्षित हुन्छ भन्ने मान्यता राखिन्छ र बैंकको आन्तरिक व्यवस्थापन पनि सुरक्षित र जटिल नै हुन्छ । तर बैंकका कर्मचारीहरू नै मिलेर बचतकर्ताको बचत अपचलन गर्न भने कुनै कठिन रहेनछ । महालक्ष्मी विकास बैंकमा यस्तै भयो ।

महालक्ष्मी विकास बैंकमा चार जना कर्मचारीले ग्राहकले डिपोजिट गरेको रकम अपचलन गरी अनलाइन जुवा खेलेको पाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको महालक्ष्मी विकास बैंकमा ब्रान्च म्यानेजरसहित अन्य तीन कर्मचारीले बैंकको २ करोड ८४ लाख ७६ हजार रुपैयाँ अपचलन गरेको पाइएको छ ।

महालक्ष्मी विकास बैंकको दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको बैंकको शाखा कार्यालयबाट रकम अपचलन गरेको अभियोगमा शाखा प्रबन्धक सागर शाही तथा कर्मचारीहरू निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका छन् ।
शाखा प्रबन्धकसहितका कर्मचारीले ग्राहकले डिपोजिट गर्न ल्याएको रकम बैंकको भल्टमा राखिएको भन्दै उक्त रकम अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा लगाएको पाइएको छ । बेटिङमा लगाएको रकम हारेपछि उनीहरूले बैंकलाई नै झुक्क्याउँदै रकम भल्टमा रहेको भनेका थिए । तर भल्ट खोलेर हेर्दा भल्ट खाली पाइएको हो ।

भल्टमा पैसा नै नराखेको र ग्राहकको डिपोजिट रकम गायब भएपछि बैंकले नै आन्तरिक छानबिन गरेको थियो । छानबिनका क्रममा कैफियत भेटिएपछि बैंकले नै उजुरी गरी ब्रान्च म्यानेजरसहितका चार कर्मचारीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले दार्चुलाले पक्राउ परेकाहरू अनुसन्धान गर्न अदालतबाट गत शुक्रबार मात्रै ७ दिनको म्याद लिएको छ । उनीहरूमाथि बैंकिङ कसुरको अभियोगमा अनुसन्धान सुरु भएको छ ।

यसअघि बिहीबार मात्रै महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गोकुलेश्वर पुगेको थियो । आन्तरिक छानबिनमा बैंकको भल्टमा पैसा नभएपछि सोधखोज गर्दा वान एक्स बेटमा हारेको पाइएपछि उनीहरूमाथि अनुसन्धान सुरु भएको हो । चारै जना कर्मचारीको मिलेमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले कर्मचारीलाई समेत निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?