कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशील बनाउन आवश्यक : सभापति थापा

लोकपथ
49
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशील बनाउन तीन आधारस्तम्भ राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता र सामूहिक समावेशिता अपरिहार्य रहेको बताएकी छन् ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यी आधारलाई प्राथमिकतामा राखी पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् । नवप्रवर्तन र शिक्षाको प्रभावकारी उपयोगले कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न सकिने भन्दै उनले भनेकी छन्, ‘हाल ग्रामीण क्षेत्रका पाँच प्रतिशतभन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन्, तर युवा बेरोजगारी दर १९ प्रतिशतभन्दा माथि छ। यसका लागि व्यवसायिकता र कृषि शिक्षाको अवसर विस्तार गर्नुपर्छ ।’

उनका अनुसार कृषि पाठ्यक्रममा जलवायु सहनशीलता र उद्यमशीलता समावेश गर्नुका साथै सफल नवप्रवर्तनको विस्तार गर्न आवश्यक छ । उनले सयभन्दा बढी सामुदायिक बीउ बैंकहरूले स्वदेशी जातिको संरक्षण गरिरहेका र सौर्य सिँचाइ प्रणालीले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको उदाहरण प्रस्तुत गरिन् ।

सभापति थापाले नेपालको संसद्ले समावेशी र किसानमैत्री कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्नुपर्नेमा जोड दिइन् । हाल नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको उनले स्मरण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?