बागमतीका मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्ताव केही दिन पर सार्न लामा पक्षको प्रस्ताव

लोकपथ
2.2k
Shares

मकवानपुर । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतसम्बन्धी प्रस्ताव केही दिन पर सार्न प्रस्ताव गरेको छ । 

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियाँलाई आग्रह गरेको हो 

लामा पक्ष आफ्नै पार्टी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका बानियाँलाई आफ्ना मागहरू सम्बोधन नगरी विश्वासको मत दिने पक्षमा छैन । त्यसैले सो समूहले तत्काल विश्वासको मतसम्बन्धी प्रस्तावलाई अगाडि नबढाउन आग्रह गरेको हो । पार्टीका आन्तरिक विषयहरू समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियाँलाई उनीहरूको आग्रह छ । 

लामा नेतृत्वको समूहले पार्टीको निर्देशनअनुसार चल्न तत्काल सम्भव नरहेको जनाएको छ । 

निवर्तमान मुख्यमन्त्री लामाले पार्टीको निर्देशनअनुसार चल्न आफू तयार रहे पनि साथीहरूको आग्रह अनुसार निर्णय गर्ने गरी अघि बढेको बताए । आफ्नो समूहमा रहेका सांसदहरू तत्काल विश्वासको मत दिने पक्षमा सन्तुष्ट नरहेकाले सो विषय मिलान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो विषयमा आजै लामा पक्षको बैठक बस्दै छ । लामाका अनुसार केही बेरमा बैठक बसेर आफ्ना अडान र विश्वासको मत विषयमा निर्णय गरिने छ । उनले अपमानित भएर पार्टीको निर्देशन मान्ने सोचमा साथीहरू नरहेको उनेले बताए ।

नवनियुक्त मुख्यमन्त्री बानियाले आज मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ । गत साउन २० गते कांग्रेस–एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँलाई ६४ सांसदको समर्थन रहेको छ । कांग्रेसभित्रको आन्तरिक किचलोको कारण १४ सांसद निवर्तमान मुख्यमन्त्री लामा पक्षमा रहेर संघर्ष गरिरहेका छन् । लामा पक्ष पूर्व सहमतिअनुसार तीन जना मन्त्रीको नियुक्ति र शपथको अडानमा रहेको छ ।

११० सदस्य बागमती प्रदेश सभामा सत्तारुढ दल कांग्रेसको ३७, एमालेको २७, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् । विश्वासको मत पाउन ५६ सांसदको आवश्यक पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?