पाँचथरमा गत वर्ष लडेर २५ जनाको मृत्यु

लोकपथ
21
Shares

पाँचथर । आर्थिक वर्ष २०८१/८२ मा पाँचथरमा लडेर २५ जनाले ज्यान गुमाएका छन् । 

विशेषगरी ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्ने क्रममा मेलापात, गाउँघर वा छरछिमेकबाट घर फर्कँदा दुर्घटनामा ज्यान जाने घटना बढी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (प्रनाउ) कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मादक पदार्थ सेवनपश्चात पैदलयात्रा गर्दा पनि अनाहकमा ज्यान जाने घटना बढेको छ। घाँसदाउरा गर्न वा पशु चराउन गएकाहरू पनि लडेर ज्यान गुमाउने गरेको पाइएको छ। समयमै उद्धार हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या अझ बढेको प्रहरीको निष्कर्ष छ।

गत आवमा कारण नखुली १४ जनाको अकस्मात मृत्यु भएको छ। यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर ६/६ जनाको, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर २/२ जनाको मृत्यु भएको छ । चट्याङ लागेर, रुखले किचेर, सवारी दुर्घटना र पहिरोमा परेर १/१ जनाको ज्यान गएको छ ।

गत वर्ष जिल्लामा २३२ मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी भवितव्य ज्यानका ६२ मुद्दा छन् । आत्महत्याका ४८, अभद्र व्यवहारका २७, बैंकिङ कसुर र जबरजस्ती करणीका १२र१२, ज्यान मार्ने उद्योगका १०, लागुऔषधसम्बन्धी र फुटकर ज्यानसम्बन्धी ९/९, बाल यौन दुर्व्यवहारका ६, ज्यानसम्बन्धी र बहुविवाहका ५र५, सवारी ज्यान, चोरी र ठगीका समान ४/४ मुद्दा दर्ता भएका छन् ।

पछिल्ला चार आर्थिक वर्षमा मुद्दा दर्ता संख्या स्थिर रहेको छ । आव २०७८/७९ मा २३५, २०७९/८० मा २३४, २०८०/८१ मा २३७ र २०८१/८२ मा २३२ मुद्दा दर्ता भएका छन्।

प्रनाउ बुढाथोकीका अनुसार पाँचथर प्रहरीले जिल्लाको अपराध प्रवृत्ति र दरका आधारमा कार्य योजना बनाई काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?