नागरिकता दुरुपयोग रोक्न र नागरिकताविहीन अवस्था टार्न सरकार सचेत होस् : सांसद गौतम

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गरेकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।

उनले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताइन् । वंशजको नागरिकतालाई स्पष्ट पार्नुका साथै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान संविधानको मर्म र भावनाअनुसार व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बिचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यस कारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक । नागरिकता दुरुपयोग रोक्न तथा नेपाली नागरिक नागरिकताविहीन हुनुपर्ने अवस्थामा समेत सचेत रहनुपर्ने अवस्था छ ।’

उनले नागरिकता दुरुपयोग रोक्ने र कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड  दिइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?