काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गरे ।
उनले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नुपर्छ भन्ने बाध्यता नरहेको समेत स्पष्ट पारे । उनले आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशनात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताए ।
आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने बताए । उनले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरिएको बताए ।
उनले सन्तानले आमा नामबाट नागरिकता लिँदा बुबा नाम राख्न नचाहेको अवस्थामा समेत नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया