पाँचथर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् ।
प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल भइरहेको बताउँदै उनले यसपटक मिति परिवर्तन नहुने गरी अन्तिम निर्णय गरिने स्पष्ट पारे ।
आइतबार पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले प्रतियोगिता सुर्खेतमा आयोजना हुने भएकाले कर्णाली प्रदेश सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । ‘मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल भइरहेको छ । प्रधानमन्त्रीज्यूको पनि चासो रहेको छ, त्यसैले चाँडै मिति टुंग्याउँछौं,‘ उनले भने।
मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा देखिएका वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको अध्ययन तथा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको पनि बताए । मौजुदा कानुनको अधिनमा रहेर प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।
उनका अनुसार खेलकुदका संरचना निर्माणका लागि आवश्यक जग्गा सीमित मात्रामा उपलब्ध हुने र प्राप्त जग्गामा पनि बजेट अभाव हुने समस्या कायम छ । ‘अहिले प्राप्त भएका जग्गामध्ये करिब ७० प्रतिशतमा संरचना निर्माण भइरहेका छन्,‘ उनले बताए, ‘आगामी दिनमा स्थानीय तहले पनि जग्गा व्यवस्थापन गर्नुपर्ने हुन्छ।‘
मन्त्रालयले प्रदेश र स्थानीय तहमा खेलकुदका कर्मचारी पठाउने तयारी गरिरहेको र त्यसका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भदौभित्र सम्पन्न हुने उनले जानकारी दिए ।
यसै अवसरमा मन्त्री चौधरीले अलपत्र बनेको फिदिम रङ्गशाला निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । १० करोड ६३ लाख ७५ हजार लागतमा पिएस–किरातेश्वर–मैनाचुली जेभीले निर्माणको ठेक्का पाएको उक्त रङ्गशाला विसं २०७७ फागुनमा सुरु भए पनि हालसम्म ३१.७५ प्रतिशत मात्र भौतिक प्रगति भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
सम्झौताअनुसार २०७९ असार १५ भित्र सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण काम रोकिएको हो । मन्त्री चौधरीले चालु आर्थिक वर्षदेखि बजेट अभाव हुन नदिने र परियोजना बहुवर्षीय ठेक्कामा रुपान्तरण गर्ने योजना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया