काठमाडौं । गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनको अवसर पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ले दर्शकको मन जितेका छन् ।
दुवै चलचित्र सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणमा फरक पस्किएर सफल भएका छन् । चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा दर्शकको चाप चलचित्र भवनमा देखिएको थियो । यसले गाईजात्रापछि पनि दुवै चलचित्र निरन्तर प्रदर्शनमा रहने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
चलचित्र ‘मोहर’का लेखक तथा निर्देशक ओम प्रतीकका अनुसार, चलचित्रले देवीदेवताको सेवाका नाममा अवोध बालिकालाई ‘देउकी’ बनाउने परम्परागत अन्धविश्वासविरुद्ध जनचेतना जगाउने प्रयास गरेको छ । चलचित्रले बालिकामाथि हुने सामाजिक हिंसालाई रोक्नुपर्ने सन्देश प्रवाह गर्दै मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उजागर गरेको छ ।
‘केही वर्षअगाडि पनि देउकी प्रथा चलेको थियो, त्यसैले आजको शैलीमा उक्त कथालाई उठान गरेका छौं,’ निर्देशक प्रतीकले बताए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङग शाही र मिस पविललगायत कलाकारको अभिनय रहेको छ ।
अर्को प्रदर्शनरत चलचित्र ‘सिटामोल’ माओवादी द्वन्द्वकालमा घाइते एक परिवारको कथा आधारित छ । निर्देशक राजबहादुर सानेले यसलाई आफ्नो निर्देशन यात्रा मै फरक किसिमले प्रस्तुत गरिएको दाबी गरेका छन् ।
अभिनेता सौगात मल्लले पनि चलचित्रमा जोडिनुको कारण युद्धमा लडेका व्यक्तिहरूको जीवन संघर्षलाई दर्शाउनुपर्ने भएकाले भएको बताए । उनले भने, ‘यो चलचित्रले युद्धले प्रभावित एक व्यक्तिको र उनको परिवारको संघर्षलाई देखाउँछ जसले समाज र सोचमा परिवर्तन ल्याउने विश्वास छ ।’
चलचित्र ‘सिटामोल’मा सौगात मल्लसँगै बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम र अन्य कलाकारले अभिनय गरेका छन् । कथाको रचना निर्देशक साने र प्रदीप भारद्वाजले गरेका हुन् ।
पछिल्लो समय चाडपर्वको अवसरमा प्रदर्शित हुने नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाउने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया