काठमाडौं । काठमाडौंमा भदौ ३ गतेदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ नयाँ विद्युतीय सवारीसाधन (ईभी) हरूको लन्च र प्रदर्शनीले सबैको ध्यान तानिरहेको छ ।
नेपालको विद्युतीय सवारी बजार अहिले तीव्र गतिमा बढ्दै गएको छ भने यस एक्स्पोले विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलहरूलाई नेपाली बजारमा ल्याउने काम गरेको छ । नाइमा एक्स्पोमा उपस्थित भएका केही सवारी साधनहरूको मूल्य र प्रविधि सम्बन्धी जानकारीहरू ग्राहकवर्गका सहजताका लागि यहाँ प्रस्तुत गरिएको छ ।
बीवाइडी एटो–वान : सबैभन्दा सस्तो र प्रभावकारी मोडल
यस वर्षको एक्स्पोमा सबैभन्दा चर्चित र सस्तो विद्युतीय गाडीमध्ये एक हो बीवाइडी एटो वान । नेपालमा साइमेक्स इंकले भित्राएको यो मोडल दुई भेरियन्टमा उपलब्ध छ, स्ट्याण्डर्ड रेन्ज (डाइनामिक) र लङ रेन्ज (प्रिमियम) । स्ट्याण्डर्ड भेरियन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री प्याक छ भने प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । एनईडीसी प्रमाणीकरण अनुसार यी दुई भेरियन्टले एकपटक फूल चार्ज गर्दा क्रमशः २३० र ३०० किलोमिटर माइलेज दिन सक्छ ।

मूल्यका हिसाबले डाइनामिक भेरियन्ट २८ लाख ९५ हजार र प्रिमियम भेरियन्ट ३२ लाख ९० हजार तोकिएको छ । यो मूल्य नेपाली बजारका लागि किफायती र गुणस्तरीय विद्युतीय गाडी खोज्ने ग्राहकहरूका लागि आकर्षक विकल्प बन्न पुगेको छ ।
जेइको जे–फाइभ : लक्जरी र शक्तिशाली
चीनको चेरी अटोमोबाइल्सको उत्पादन रहेको जेइको जे फाइभ नाइमा एक्स्पोमा बढी इन्क्वाइरी आउने अर्को मोटर हो । नेपालमा ओमोडा जेइको नेपालले भित्राएको जेइको जे फाइभको डिजाइनले रेंज रोभर जस्ता शक्तिशाली एसयूभीको झल्को दिन्छ । एक मात्र भेरियन्टमा उपलब्ध यो गाडीमा ५८.९ किलोवाट क्षमताको ब्याट्री र १५५ किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर छ । कम्पनीले यस गाडीलाई एक पटक चार्जमा ४०० किलोमिटरको माइलेज दिने दाबी गरेको छ ।

जेइको जे फाइभको नेपालको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले नाइमा एक्स्पोमा यो गाडीको मूल्य ६० लाख ९९ हजार तोकेको भए पनि नाइमा एक्स्पोमा ४ लाख रुपैयाँको छुट दिएको छ । छुटपछि यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम गरी बुकिङ खुला गरिएको छ । यो मोडल लक्जरी बजारमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा देखिन्छ छ ।
लीपमोटर बी–टेन : किफायती एसयूभी

सांग्रिला मोटर्सले नेपाली बजारमा भित्राएको लीपमोटर बी–टेन एसयूभी पनि नेपाली बजारमा प्रतिस्पर्धा गर्न सक्ने सशक्त मोडलमा रुपमा हेरिएको छ । यो मोटर दुई भेरियन्टमा उपलब्ध गराइएको छ, जसको सुरु मूल्य ४९ लाख ९९ हजारदेखि टप भेरियन्टको मूल्य रु. ५६ लाख ९९ हजारसम्म पुग्छ । दुवै भेरियन्टमा समान १६० किलोवाटको मोटर प्रयोग गरिएको छ । ब्याट्री क्षमता ५६.२ किलोवाट आवरदेखि ६७.१ किलोवाट आवरसम्म फरक छ, जसले विभिन्न दूरीमा यात्रा गर्न सक्ने क्षमता दिन्छ ।
महिन्द्रा बीई–सिक्स : भारतको भरोसायोग्य विकल्प

भारतीय कम्पनी महिन्द्राले नेपाली बजारमा आफ्नो बीई सिक्स इलेक्ट्रिक गाडी ल्याएको छ । यसलाई तीन भेरियन्टमा उपलब्ध गराइएको छ –प्याक वान, प्याक टु र प्याक थ्री । तीनको मूल्य क्रमशः ५७ लाख, ६० लाख र ६७ लाख तोकिएको छ । यसमा ५९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको इलेक्ट्रिक मोटर राखिएको छ । यस मोडलले मध्यम वर्गीय ग्राहकहरूको माग पूरा गर्न ठुलो भूमिका खेल्ने अनुमान छ ।
फरथिङ फ्राइडे : साइज र प्रदर्शनमा बलियो

नेपालमा लक्ष्मी इ–मोबिलिटीले ल्याएको फर्थिङ फ्राइडे एसयूभी कार पनि बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ । यसको स्ट्याण्डर्ड भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ५४ लाख ९६ हजार तोकिएको छ । यस गाडीमा ६४.४ किलोवाट क्षमताको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जुन मूल्य र प्रदर्शनका हिसाबले सन्तुलित विकल्प मानिन्छ ।
महिन्द्रा एक्सईभी–९ ई : उच्च क्षमताको एसयूभी कार

महिन्द्राले ल्याएको अर्को महत्त्वपूर्ण मोडल हो एक्सईभी ९ ई, जुन नेपाली बजारमा महँगोमध्ये उच्च क्षमताको विद्युतीय एसयूभी मानिन्छ । यसको सुरुवाती मूल्य ६९ लाख छ भने यो कार तीन भेरियन्टमा उपलब्ध गराउने तयारी गरिएको छ । प्रारम्भिक दुई भेरियन्टमा ५९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र उच्चतम भेरियन्टमा ७९ किलोवाट आवर क्षमताको ब्याट्री दिइनेछ । मोटर क्षमता ९९ किलोवाटदेखि १९९ किलोवाटसम्म हुने अनुमान छ ।
म्याक्सस मीफा ७ ईभी : लक्जरी, दमदार र लामो दूरी एकै साथ

नेपालमा म्याक्सस ब्राण्डको आधिकारिक वितरक हिमालय मोट्रक्सले प्रिमियम क्लासको विद्युतीय एमपीभी ‘मीफा ७ ईभी भित्राएको छ । कम्पनीले एक्स्पो अवधिभर बुक गर्ने ग्राहकहरूलाई १० लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ । यस अनुसार सुरुवाती मूल्य १ करोड २५ लाख पर्ने यो गाडी नाइमा एक्स्पोमा बुक गर्नेले १ करोड १५ लाख रुपैयाँमा पाउनेछन् ।
मीफा ७ मा ९० किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने एकपटक फूल चार्ज गर्दा ६३५ किलोमिटर सम्मको माइलेज दिने दाबी गरिएको छ ।
मीफा ७ ले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० मिनेटमै यसको ब्याट्री ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सम्भव छ । यसमा १८० किलोवाट क्षमताको मोटर राखिएको छ, जसले ३५० एनएम टर्क उत्पादन गर्छ । यसको मोटर क्षमताले गाडीलाई सशक्त, सहज र भरपर्दो ड्राइभिङ अनुभव दिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया