रुपन्देही–३ उपनिर्वाचन मोर्चाको परीक्षा हो : रेशम चौधरी

लोकपथ
2.2k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई संघीय लोकतान्त्रिक मोर्चाका लागि महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् ।

संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारेको ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्वाचन जसरी पनि जित्नुपर्ने आवश्यकता औँल्याए । ‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो। यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ, ‘चौधरीले भने ।

थारु–मधेशीसहित सबै उत्पीडित समुदायको एकताको लागि मोर्चा गठन गरिएको उनले बताए । साथै, थारु भएकै कारण आफू र आफ्ना समुदायमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले समेत सम्बोधन गर्दै मोर्चाको उद्देश्य र अभियानका बारेमा धारणा राखे । संघीय लोकतान्त्रिक मोर्चाले हाल देशव्यापी रूपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?