मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १ हजार ७ सय पशु मरे

लोकपथ
63
Shares

जनकपुरधाम । मधेस प्रदेशमा लम्पीस्किन रोगले व्यापक जोखिम फैलाउँदै एक हजार सात सयभन्दा बढी पशुचौपायाको मृत्यु भएको छ । 

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ५२ हजार ६८६ पशु लम्पीस्किन रोगबाट सङ्क्रमित भएका छन् भने २३ हजार ७०९ पशु उपचारपछि निको भएका छन् ।

लम्पीस्किन रोगका लक्षणमा सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा देखिनु, साथै पशुले घाँस र पानी खान नचाहने समस्या देखिन्छ । रोगको फैलावटलाई रोक्न मन्त्रालयले खोप अभियान पनि सुरु गरेको छ ।

अभियानअन्तर्गत हालसम्म मधेस प्रदेशभरि करिब दुई लाख ४५ हजार पशुमा खोप लगाइएको छ । मन्त्रालयका तथ्यांक अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रबाट खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषा जिल्लामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।

मन्त्रालयले पशु मालिकहरूलाई लम्पीस्किन रोगका लक्षण देखिँदै गर्दा तत्काल नजिकैको पशु अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ । यसरी खोप र रोग नियन्त्रणमा ध्यान नदिने हो भने पशुजन्य जीविकोपार्जनमा गम्भीर प्रभाव पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?