मुस्ताङमा च्याउ टिप्न गएका युवक खोलाले बगाउँदा बेपत्ता

लोकपथ
126
Shares

मुस्ताङ । मुस्ताङमा च्याउ टिप्न जङ्गल जाँदै गर्दा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

बागलुङको निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा करिब छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार विक आफ्नी श्रीमतीसहित पाँच जनाको समूहमा कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाँदै गर्दा धुम्बा खोला तर्ने क्रममा खोलाको पानीको बहाव अचानक बढेपछि उनी बगिएका हुन् ।

स्थानीय डिल्लीजङ्ग गुरुङले घटना भएको जानकारी जिल्ला प्रहरी कार्यालयलाई दिएका थिए। खबर पाउनासाथ प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको टोली खटाइएर खोजतलास कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

घटना स्थल जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट करिब सात किलोमिटर पश्चिम–पूर्वतर्फ पर्ने बताइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?