काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको तरलता (बक्यौता रकम) ४ खर्बमा झरेको छ । बिहीबारसम्म ६ खर्ब ६९ अर्ब रुपैयाँ रहेको बक्यौता रकम शुक्रबार २ खर्ब ५४ अर्ब स्थायी निक्षेप सुविधा (SDF) फिर्ता भएपछि ४ खर्ब १५ अर्बमा घटेको हो ।
राष्ट्र बैंकले स्थायी निक्षेप परिपक्व हुने दिन सार्वजनिक बिदा परेमा अघिल्लो दिनमै फिर्ता गर्ने नीतिअनुसार, आइतबार सार्वजनिक बिदा परेकाले सो निक्षेप शुक्रबार नै फिर्ता गरिएको हो। राष्ट्र बैंकका एक अधिकारीका अनुसार यही व्यवस्थाअनुसार उक्त रकम फिर्ता गरिएको हो ।
वर्तमानमा राष्ट्र बैंकसँग निक्षेप संकलन उपकरण (Deposit Collection Instruments) मार्फत संकलन गरिएको रकम मात्रै बक्यौता रहेको छ, जसको कुल मूल्य ४ खर्ब १५ अर्ब रुपैयाँ हो ।
सुस्त आर्थिक गतिविधिको असर
आर्थिक गतिविधिमा सुस्तता देखिएको छ, जसले बजारको समग्र मागमा असर पुर्याएको छ। मागमा कमी आउँदा उपभोग बढ्न सकेको छैन, जसका कारण बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि अपेक्षितरूपमा वृद्धि हुन सकेको छैन ।
यद्यपि रेमिट्यान्स आप्रवाहमा सुधार देखिए पनि उपभोग नबढेपछि वित्तीय प्रणालीमा अधिक तरलता (excess liquidity) को समस्या देखिएको हो ।
ब्याजदरमा असर
वित्तीय प्रणालीमा तरलता बढ्दा अन्तरबैंक ब्याजदर घट्ने गर्छ, जसले समग्र ब्याजदरलाई प्रभावित पार्छ। यसैको व्यवस्थापनका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ, जसको तल्लो सीमा २.७५% निर्धारण गरिएको छ । यदि अन्तरबैंक दर यसभन्दा तल झर्छ भने केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्ने गर्छ ।
निक्षेप संकलन उपकरणप्रति चासो कम
बिहीबार राष्ट्र बैंकले ३५ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन उपकरण जारी गरे पनि बैंक तथा वित्तीय संस्थाहरू त्यसप्रति खासै आकर्षित देखिएनन् । माग अनुसार ४० अर्ब माग भए पनि राष्ट्र बैंकलाई मात्र १५ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्राप्त भयो ।
यसको मुख्य कारण स्थायी निक्षेप सुविधाको अवधि छोटो (३ दिन) हुँदा सो विकल्प बैंकहरूले प्राथमिकता दिएका हुन् । निक्षेप संकलन उपकरणमा लगानी गर्दा रकम धेरै दिन होल्ड हुने भएकाले त्यसप्रति चासो कम देखिएको विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया