काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक संविधानमार्फत प्राप्त उपलब्धिहरूको कार्यान्वयनमार्फत समाजमा समानता र न्याय स्थापना गर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, तथा समानुपातिक समावेशी सिद्धान्तअनुरूप प्राप्त उपलब्धिहरू संविधानको मूल मर्म रहेको बताए ।
‘संविधानको प्रस्तावनामै विभेद र उत्पीडन अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको लक्ष्य राखिएको छ,‘देउवाले भने, ‘अब सामाजिक परिवर्तनका क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढ्यौँ भने निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ ।’
उनले आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस सधैँ संवेदनशील रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता र सहभागिता जस्ता आधारभूत क्षेत्रमा समान पहुँचको सुनिश्चिततामा विशेष ध्यान दिनुपर्ने बताए ।
सभापति देउवाले आदिवासी तथा जनजातिहरूको परम्परा, पहिचान र भेषभूषाको संरक्षण तथा संवर्द्धन गर्दै आइएको उल्लेख गर्दै त्यसलाई अझ संस्थागत रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।
उनका अनुसार कांग्रेसले आफ्नो नीति, कार्यक्रम र घोषणापत्रमा समेत समानुपातिक समावेशी मूल्यको स्पष्ट प्रतिबद्धता जनाउँदै आएको छ। उनले समावेशी शासन र सामाजिक न्यायको सुदृढ अभ्यास नै दीगो लोकतन्त्रको आधार हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया