भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन : एनपी साउद

लोकपथ
343
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी) ले नेपालले भारतको ऊर्जा मागलाई मध्यनजर गर्दै स्पष्ट र दीर्घकालीन विद्युत् निर्यात रणनीति बनाउनुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै साउदले तेस्रो मुलुकमा विद्युत् निर्यातका सम्भावना भौगोलिक कारणले सीमित रहेको स्पष्ट पारे । ‘भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने अवस्था छैन,‘ उनले भने, ‘ट्रान्समिसन लाइन भए पनि त्यो भारतले नै दिनुपर्छ ।’

उनले जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य रहेको औँल्याउँदै विगतमा नेपालको जलस्रोतको न्यूनतम उपयोगसमेत गर्न नसकेको उल्लेख गरे । साउदका अनुसार नेपालको नीति र भौगोलिक चुनौतीका कारण जलविद्युत उत्पादनमा अपेक्षित लाभ उठाउन सकिएको छैन ।

‘हाम्रो प्रोडक्ट किन्ने मुलुकको बजार पहिचान हाम्रो हातमा हुन्छ,‘साउदले भने, ‘तर त्यस मुलुकको प्राथमिकता भने हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले हामीले हाम्रो ऊर्जा कसरी बढी मूल्यमा बेच्ने भन्ने रणनीति बनाउनुपर्छ ।’

उनले जलस्रोतको दोहन नहुनुमा विगतको पञ्चायती नीतिलाई पनि जिम्मेवार ठहर गरे । साथै, जलविद्युत उत्पादन गर्दा त्यसको प्रभावकारिता र आउटपुटबारे गम्भीर अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए।

सांसद साउदले निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गर्दै देशलाई समृद्ध बनाउने दिशामा अग्रसर हुन सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?