काठमाडौं । हरेक चाडपर्वको आफ्नै किसिमको महत्व हुन्छ । नेपाली समाजमा मनाइने विभिन्न पर्वहरू केवल धार्मिक विधिमात्र नभई सांस्कृतिक पहिचान, मानसिक उत्साह, पारिवारिक भेटघाट र सामाजिक एकताको माध्यमका रुपमा लिइन्छ ।
यस्ता पर्वहरुले जीवनमा उमंग र ऊर्जा थप्नुका साथै आफन्तजनबिचको सुमधुर सम्बन्ध बलियो बनाउन भूमिका खेलिरहेको हुन्छ । यस्तै पर्वमध्ये एक महत्वपूर्ण पर्व हो जनै पूर्णिमा ।
जनैपूर्णिमा भन्ने बित्तिकै रक्षा बन्धन मुख्यगरी आउँछ । जहाँ दिदीबहिनीहरूले दाजुभाइको हातमा रक्षासूत्र (डोरो) बाँधेर उनीहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन् ।
दाजुभाइले पनि जीवनभर बहिनीहरूको रक्षा गर्ने बाचा गर्छन् । ‘रक्षा’ र ‘बन्धन’ शब्दको मेलबाट बनेको यो पर्व भाइबहिनीबिचको अटुट सम्बन्धको प्रतीक मानिन्छ । जनै पूर्णिमा पर्वले धार्मिक आस्था, सामाजिक सम्बन्ध र परम्परागत मूल्यहरूको संरक्षण गर्दै समाजमा सहकार्य, सद्भाव र सशक्त आत्मविश्वास निर्माण गर्ने कार्य गर्दछ । आज देशभर हिन्दू धर्मावलम्बीले श्रद्धा, भक्तिभाव र परम्पराअनुसार जनै पूर्णिमा अर्थात् रक्षा बन्धन पर्व मनाइरहेका छन् । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ, जुन धार्मिक, सांस्कृतिक र पारिवारिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ ।
यो पर्व विशेषगरी ब्राह्मण, क्षेत्री, वैश्य समुदायका तागाधारी जातिहरूको लागि प्रमुख पर्व हो । आजको दिन पुरोहितबाट मन्त्र उच्चारणसहित नयाँ जनै (यज्ञोपवित) फेर्ने परम्परा छ, जसलाई ऋषितर्पणी भनिन्छ । बिहानै स्नान गरी शुद्ध भई वैदिक विधिअनुसार पूजा आराधना गरेर यो कार्य सम्पन्न गरिन्छ ।

यस पर्वमा रक्षासुत्र बाँध्ने चलन पनि उत्तिकै महत्वपूर्ण छ । पुरोहित वा घरका जेठोसँग मन्त्रसहित बाँधिने रक्षासूत्रलाई राखि वा डोरो भनिन्छ । यसले सुरक्षा, शान्ति र समृद्धिको कामना गर्दछ, जसका कारण यो पर्व रक्षा बन्धन नामले पनि चिनिन्छ ।
जनै पूर्णिमामा तागाधारीहरू वेद पाठ गर्ने, ऋषिगणको तर्पण गर्ने, आफ्ना गोत्र र प्रवरको पूजा गर्ने, तथा यज्ञोपविताभिमन्त्रण गर्ने परम्परा निर्वाह गर्छन् । यसदिन गरिएको स्नान, जप, तर्पण र गुरु पूजाले आत्मशुद्धि, पितृशान्ति र आध्यात्मिक उन्नति हुने धार्मिक विश्वास छ ।
पर्वले दाजुभाइ र दिदीबहिनीबिचको प्रेम र सुरक्षाको सम्बन्धलाई अझ बलियो बनाउने कार्य पनि गर्छ । दिदीबहिनीहरूले दाजुभाइलाई राखि बाँधेर दीर्घायु, सफलता र सुरक्षाको कामना गर्छन् भने दाजुभाइले जीवनभर रक्षाको वाचा गर्छन् ।
समाजमा पारिवारिक एकता र सम्बन्धमा आत्मीयता बढाउने यो पर्वले दिदीबहिनी र दाजुभाइबिचको भावनात्मक सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास गरिन्छ । परम्परागत रूपमा दाजुभाइ टाढा भएका खण्डमा पनि रक्षा बन्धनका अवसरमा दिदीबहिनीहरू उनीहरूकहाँ राखि पठाउने चलन रहेको छ ।
रक्षा बन्धनसँग जोडिएका पौराणिक कथाहरू पनि लोकप्रिय छन् । देवता र दानवबिचको युद्धमा इन्द्राणीले इन्द्रलाई रक्षासुत्र बाँधी विजय दिलाएको प्रसङ्गदेखि समुद्र मन्थनका क्रममा महादेवले विष पिएर सृष्टिलाई जोगाएको कथासम्म यस पर्वसँग जोडिएका छन् ।
कृषक समुदायमा यो दिनलाई कृषि पर्वका रूपमा पनि मनाइन्छ । साथै, रक्षाबन्धन सामाजिक सद्भाव र मेलमिलापको प्रतीक पनि हो
कृषक समुदायमा यो दिनलाई कृषि पर्वका रूपमा पनि मनाइन्छ । साथै, रक्षाबन्धन सामाजिक सद्भाव र मेलमिलापको प्रतीक पनि हो । दाजुभाइ नभएका महिलाहरूले सैनिक, साथी वा नातेदारलाई राखी बाँधेर सामाजिक एकताको सन्देश दिन्छन् ।
जनै पूर्णिमा नेपाली संस्कृतिमा शुद्धता, आस्था, र आत्मीयताको प्रतीक पर्वका रूपमा गहिरो महत्व राख्दछ ।
जनै पूर्णिमामा क्वाँटी
त्यसो त जनैपूर्णिमासँगै जोडिएर आउने अर्को खानेकुरा हो क्वाँटी । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने बताइन्छ । त्यतिमात्र नभएर यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको समेत हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया