काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारद्वारा एनसेललाई लाइसेन्स नविकरण शुल्क तिर्न किस्ताबन्दी सुविधा दिनु राष्ट्रहित विपरित भएको आरोप लगाएका छन् ।
शुक्रबार संसदको सार्वजनिक लेखा समितिमा भएको बेरुजु सम्बन्धी छलफलमा अध्यक्ष लिङदेनले एनसेल राज्यको नियन्त्रणमा आउन लागेको बेला सरकारले किस्ताबन्दी सुविधा दिएर ‘लुट मच्चाउने’ प्रयास गरेको टिप्पणी गरे ।
उनले यस्तो निर्णयका पछाडि ठूला प्रभाव र चलखेल भएको शंका व्यक्त गर्दै भने, ‘एनसेलले सम्पत्ति जिम्मा लगाएर जान लागेको बेला हामी उसलाई किस्ताबन्दी दिन्छौं, किन र कसको प्रभावमा ?’
उनका अनुसार यस्ता निर्णयले देशमा भ्रष्टाचार र बेरुजु बढाउने काम गरेको छ । उनले सरकारी संयन्त्रमा विचौलिया, व्यापारी, नेतादेखि न्यायालयसम्मको संलग्नता रहेको गम्भीर आरोप पनि लगाए । ‘बेरुजु त्यसै बढेको होइन, विचौलिया व्यापारी, नेता र न्यायालयसम्मकै हात छ, ‘लिङदेनले भने ।
अध्यक्ष लिङदेनले कर्मचारीतन्त्र सक्षम र जिम्मेवार भएमा बेरुजु नियन्त्रण गर्न सकिने उल्लेख गर्दै पारदर्शी योजना निर्माण र प्रतिस्पर्धात्मक प्रक्रिया आवश्यक रहेको धारणा राखे । उनले हाल सरकारमा ठूलो बजेटको योजना राखी प्रतिस्पर्धा बेगर निश्चित कम्पनीलाई जिम्मा दिने प्रवृत्ति मौलाएको भन्दै त्यसले देशलाई दीर्घकालीन रुपमा नोक्सान पुर्याउने चेतावनी पनि दिए ।
लिङदेनले नीति र कार्यान्वयन तहमा स्पष्ट सुधार नगरेसम्म भ्रष्टाचार र बेरुजु नियन्त्रण असम्भव हुने टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया