यी हुन् उत्तराखण्डमा गएको बाढीपहिरोमा परी ज्यान गुमाउने जाजरकोट, जुम्ला र रुकुमपश्चिमका सात व्यक्ति

लोकपथ
1.1k
Shares

काठमाडौं । जाजरकोटका एकै परिवारका ५ जनासहित ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने अन्य दुई जनामा जुम्ला र रुकुम पश्चिमका छन् । 

‘क्लाउड ब्रस्ट’का कारण आएको भीषण बाढी पहिरोमा परी मृत्यु हुनेमा कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका ५ जना रहेका छन् । 

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, मृत्यु हुनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रविन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेका छन् । 

यस्तै जुम्लाको तातोपानी गाउँपालिका, कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि सोही घटनामा मृत्यु भएको छ । रुकुम पश्चिमका मृतकको नाम खुलिसकेको छैन । उनी मृतक मानबहादुर सिंहका ज्वाइँ भएको जानकारी प्राप्त भएको छ । 

घटनामा ज्यान गुमाएका मानबहादुर सिंहका छोरा नवीन सिंह भने बाँच्न सफल भएका छन् । नवीनले म्यासेन्जरमार्फत आफन्तलाई खबर गरेपछि घटनाबारे यकिन भएको हो ।

पानी परेर काम नभएपछि खाजा खान भनेर बजार झरेका बेला उनीहरू बाढी पहिरोको लपेटामा परेको खुलेको छ । नवीन सिंह भने केही पर क्यारेमबोर्ड खेल्दै गरेको अवस्थामा बच्न सफल भएको जनाइएको छ । 

सिजनअनुसार काम गर्न भारत जाने उनीहरू धान रोपाइँ सकिएपछि असार–साउनमा उत्तराखण्डमा रोजगारीका गएका थिए । यस्तै अझै केही व्यक्ति बेपत्ता भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?