काठमाडौं । एक युवकको भारतमा लगेर मृगौला बेचबिखन गर्ने प्रकरणमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोको टोलीले काभ्रेको पाँचखाल नपा–१० का कुमार नन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नपा–९ का समीर नेपाली र नुवाकोट बेलकोटगढी नपा–४ का राकेश नेपाली रहेका छन् ।
उनीहरुले पीडित २६ बबरमहल (४५४) लाई ललाईफकाई गरेर भारत पुर्याएका थिए । पीडितको कमजोर आर्थिक अवस्थाको गलत फाइदा उठाइ उनलाई भारतमा मासिक १० देखि २० हजार भारु कमाइ हुन्छ भन्दै प्रलोभन देखाइयो । उनलाई गत जेठमा काठमाडौंको कोटेश्वरबाट कलंकी लगी बसमार्फत बुटवल, भैरहवा, हुँदै सुनौली बोर्डर पास गराएर भारतको चण्डीगढ पुर्याइयो । त्यहाँ अपार्टमेन्टमा राखी भोलिपल्ट नाम नखुलेको क्लिनिकमा लगी मेडिकल चेकपअ गराइयो । उनलाई पुनः अपार्टमेन्टमा लगि समिर र राकेशले एक महिना आफ्नै रेखदेखमा राखे । उनीहरुले पीडितलाई मृगौला बापत ६ लाख रुपैयाँ दिन्छु भन्दै लोभ देखाए तर पीडितले नमानेपछि हालसम्मको सबै खर्च ब्यर्होनुपर्छ भन्दै डरधम्की देखाइयो । पीडितले नमान्दा नमान्दै करकापमा चण्डीगढकै एक नाम नखुलेको क्लिनिकमा गत साउन ९ गते बाँया मृगौला झिकिएको पीडित जाहेरवालाले प्रहरीसँग बयान दिएका छन् । मृगौला झिकेपछि राजकुमार र समिरले जाहेरवालासहित अन्य ४ जना पीडित गत साउन १५ गते काठमाडौं ल्याए । तर उनीहरुले मृगौला झिकिएका पीडितलाई कुनै रकम नदिएपछि पीडितले ब्यूरामा उजुरी दिएपछि प्रहरीले विशेष अपरेशनमार्फत उनीहरुलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरेको हो ।
ब्यूरोका सूचना अधिकारी एसपी नरेन्द्र कुँवरका अनुसार मृगौलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित रुपमा योजनाबद्ध तरिकाले पीडितहरुको कमजोर आर्थिक अवस्थाको फाइदा उठाइ मृगौला तस्करी गर्ने गरेको खुल्न आएको छ ।
पीडितहरुलाई आकर्षक मूल्यमा मृगौला किन्ने बहानामा सस्तो मूल्य दिने तर आफूले भने चर्को मूल्यमा मृगौला बेचबिखन गर्ने गरेको खुल्न आएको एसपी कुँवरले जानकारी दिए ।
उनीहरुलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको एसपी कुँवरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया