काठमाडौं । आकाशमा उड्ने ठुलो जहाजमा सानो चरा ठोक्किँदा के नै हुन्छ र ? यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ । किनकि ठुलो जहाजमा सानो चरा ठोक्किँदा पनि यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ । समयमै सावधानी अपनाइएन भने यसले कैयनको ज्यान समेत लिन सक्छ ।
यस्तै ज्यान नै जाने ठुलो दुर्घटना नभए पनि जनकपुर विमानस्थलमा चरा आतंक बढ्दा कुनै दिन ठुलै दुर्घटनाको जोखिम बढाएको छ । विमानस्थल व्यवस्थापनले चरा नियन्त्रणमा उपाय नअपनाउँदा विगत ५० दिनमा जनकपुर विमानस्थलमा ८ पटक विमानसँग चरा ठोक्किएको छ । चरा ठोक्किएपछि जहाज ग्राउन्डेड गराई मर्मतपछि मात्रै उडाइएको छ । विमान ग्राउन्डेड हुँदा यात्रुले भने दुख पाएका छन् ।

जनकपुर विमानस्थलमा मंगलबार र बुधबार साँझ समेत विमानमा चरा ठोक्किँदा बुद्ध एयरका दुई विमान ग्राउन्डेड भएका छन् । विमानमा चरा ठोक्किएपछि त्यसको पूर्णरुपमा मर्मत वा चेकजाँच नगरी विमान उडाउन नमिल्ने भएको कारणले बुद्धका दुई विमान दुई पटक ग्राउन्डेड भएका छन् ।
बर्ड स्ट्राइक अर्थात् चरासँग ठोक्किँदा काठमाडौंमा भएको थियो भयानक दुर्घटना
मुख्यतः उडान तथा अवतरणको क्रममा विमान र चरा ठोक्किने (बर्ड स्ट्राइक)को सम्भावना बढी हुन्छ । विमानस्थल वरपरको वातावरण सफा नहुँदा आहारको खोजीमा चराहरू विमानस्थल वरपर आउने गर्नाले यस्तो स्ट्राइकको जोखिम बढी हुने गरेको छ ।
बर्ड स्ट्राइककै कारण भएको ठुलो दुर्घटनामा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सीता एयरको विमान दुर्घटना पनि एक हो । २०६९ साल असोज १२ गते विमानस्थलबाट उडान भर्ने बित्तिकै बिहान सवा ६ बजे सीता एयरको नाइन एन एएचए कलसाइनको डोर्निएर विमान मनहरा खोलानजिकै दुर्घटना हुँदा विमानमा सवार १९ जनाकै मृत्यु भएको थियो । विमानको प्रोपेलरमा चरा ठोक्किँदा विमानले सन्तुलन गुमाएको र उचाइ लिन नसक भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मनहरा खोला नजिकै खस्दा विमानमा आगो लागेको थियो । जुन दुर्घटनामा चालक दलका तीन सदस्य र १६ जना यात्रु गरी १९ जनाको ज्यान गएको थियो ।
काठमाडौंमा उडान भर्ने बित्तिकै भएको भयानक दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरालाई नियन्त्रण गर्न केही उपाय अपनाइएको भएपनि अन्य आन्तरिक विमानस्थलमा भने चरा आतंक बढ्दो छ । चरा आतंकबाट जनकपुर विमानस्थल सबैभन्दा बढी प्रताडित बनेको छ । पछिल्ला ५० दिनमा ८ वटा विमान चरासँग ठोक्किएर ग्राउन्डेड गर्नुपरेको छ । यद्यपि ठुलो दुर्घटना भने निम्तिएको छैन ।
हेर्नुहोस्, जनकपुर विमानस्थलमा कुन कुन मितिमा विमानसँग चरा ठोक्कियो ।
वुद्ध एयर घटना विवरण
वुद्ध एयरका विभिन्न उडानमा भएका घटनाहरूको विस्तृत विवरण
ध्यान दिनुहोस्: यी घटनाहरूले उडान सुरक्षामा चरा र वन्यजन्तुको अवरोधको महत्वपूर्ण भूमिका देखाउँछन्
दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक
बिहान अवतरणका क्रममा बर्ड स्ट्राइक
रनवेमा जहाजसँग स्याल ठोक्किएको
बिहान अवतरणका क्रममा बर्ड स्ट्राईक
रनवेमा स्याल देखिँदा जहाज काठमाडौं फिर्ता
प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त
रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
जनकपुर विमानस्थलमा विगत दुई दिनमा समेत लगातार चरा विमानसँग ठोक्किएको छ । रात्रिकालीन अवतरणका क्रममा विमानमा चरा ठोक्किँदा ठुलो दुर्घटना नभए पनि विमानमा क्षति पुग्नुका साथै विमानसमेत ग्राउन्डेड भएको छ । पटक पटक बर्ड स्ट्राइक भएपछि जनकपुर विमानस्थल जोखिममय बन्न थालेको छ ।
भद्रपुर विमानस्थल पनि उस्तै जोखिममा
जनकपुर मात्रै होइन, झापाको भद्रपुर विमानस्थल पनि उस्तै जोखिम रहेको विमानस्थल हो । यहाँको विमानस्थलको रनवेमा स्याल र चितुवा दौडिइरहेको विभिन्न भिडियो सञ्चारमाध्यममा आएका छन् । साउन २२ गते बिहान पनि काठमाडौंबाट भद्रपुर पुगेको बुद्ध एयरको विमान ओभरसुट गर्नुपरेको थियो । अवतरण गर्नै लाग्दा विभिन्न प्रजातिका चराहरूको आवाजसहित चरा देखिएपछि जहाज ओभरसुट गरिएको थियो ।
यी दुई विमानस्थलभित्र रहेका ठुलठुला झाडी एवं घाँस समयमै नउखेल्दा तथा जमिन नसम्म्याउँदा यस्ता समस्या दैनिकरुपमा बढिरहेको छ । बर्सातको समयमा रनवे वरिपरि किरा फट्याङ्ग्रा निस्कँदा ती किरा खान चराहरू झुम्मिने गर्छन् । रनवेमै चराहरू झुम्मिँदा बर्ड स्ट्राइकको खतरा बढ्ने गर्छ । विमानस्थल वरपर चरा आउँदा ठुलो दुर्घटनाको सम्भावना समेत रहन सक्छ ।
बर्ड स्ट्राइक भएपछि के हुन्छ ?
जहाजमा चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्ने हुन्छ । जहाजको अवलोकन, परीक्षण र मर्मत सम्भार गर्दा थप समय खर्चिनु पर्छ । नियमित मर्मत सम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा दैनिकरुपमा आउने यस्ता समस्याले वायुसेवा कम्पनीहरूको आर्थिक व्ययभार समेत बढाउने गरेको छ । त्यसबाहेक यस्ता समस्याले उडानमा ढिलाइ हुने तथा उडान नै रद्द गर्नुपर्ने सम्म पनि हुन्छ । समयमै उडान नहुँदा यात्रुले दुख पाउने गरेका छन् ।
के भन्छ बुद्ध एयर ?
५० दिनको अवधिमा एउटै विमानस्थलमा ६ पटक बर्ड स्ट्राइक भई जहाज ग्राउन्डेड भएको विषयमा बुद्ध एयरले दुखद घटना भनेको छ । कुनै ठुलो दुर्घटना नभए पनि बर्ड स्ट्राइकका कारण उडानमा समस्या र ढिलाइ हुने गरेको तथा मर्मतका लागि ठुलो रकम खर्च हुने गरेको बुद्ध एयरले जनाएको छ । साथै यसरी पटक पटक बर्ड स्ट्राइक तथा स्यालसँग ठोक्किनु अति जोखिमको संकेत भएको जनाएको छ । विमानस्थल व्यवस्थापनले चरा तथा स्याल नियन्त्रणका लागि आवश्यक कदम नचाल्दा विमानस्थल उच्च जोखिममा रहेको एयरलाइन्सको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया