हनुमानढोकाको जीर्ण प्रहरी भवन भत्काउने सहमति, मच्छिन्द्रनाथको रथ राख्ने पोखरी पुनर्निर्माण गरिने

लोकपथ
1.5k
Shares

काठमाडौं । २०७२ सालको भूकम्पअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको रूपमा प्रयोग हुँदै आएको हनुमानढोकास्थित भवन भत्काइने भएको छ । भूकम्पपछि जीर्ण बनेको सो भवनमा रातो स्टिकर टाँसिएको थियो ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र प्रहरी महानिरीक्षक दीपक थापाबिच बुधबार भएको भेटपछि भवन भत्काउने निर्णय भएको हो । मेयर शाहको सचिवालयका अनुसार ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको उपस्थितिमा भएको छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको पुरानो प्रहरी भवनको भविष्यबारे थियो ।

दुई रोपनी क्षेत्रफलमा फैलिएको सो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा सहमति भएको छ । मेयर शाहले हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्त्व जोगाउन र परम्परागत अभ्यासलाई निरन्तरता दिन पोखरी निर्माण आवश्यक रहेको बताएका छन् ।

बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माणबारे पनि छलफल भएको थियो । यसका लागि नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई लेआउट तयार गर्ने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?