सत्तापक्षले पेलेर संसद अघि बढाएपछि राप्रपाले सम्झियो सुवास नेम्वाङ

लोकपथ
2.5k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई स्मरण गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले नेम्वाङलाई स्मरण गरेकी हुन् । लामो समयदेखि भिजिट भिसा लगायत प्रकरणमा गृहमन्त्री रमेश लेखक नै जोडिएको भन्दै उनीमाथि समेत छानबिन गर्न माग गरिरहेका छन् ।

आफूहरुले निरन्तर विरोध जनाउँदा समेत सत्तापक्षले पेलेरै संसद अघि बढाइएको भन्दै आक्रोश व्यक्त गरिन् । साथै नेम्वाङले संसदीय प्रक्रियाबारे आफूहरुलाई जानकारी दिँदा प्रतिपक्षका एक जनाले मात्रै विरोध जनाए पनि त्यो माग पूरा गरेर अघि बढ्नुपर्ने बताएको स्मरण गरिन् ।

‘आज मैले स्वर्गीय सुवास नेम्वाङलाई सम्झिन चाहन्छु । उहाँले हामीलाई संसदीय मामिला र संसदीय प्रक्रियामा कसरी जाने भन्ने विषयमा भन्नुभएको थियो कि, सदनमा एक जना मात्रै माननीय उठे पनि सभामुखले त्यसको एड्रेस गनुपर्छ र त्यसको समाधान गरेर मात्र संसद चलाउनुपर्छ,’ उनले भनिन्, ‘तर संसदको चौथोँ र पाँचौ ठूला दलहरुले भिजिट भिसा प्रकरणमा आन्दोलनरत छौँ । म यहाँको मार्फत् सरकारलाई सोध्न चाहन्छु । के संसद सरकारप्रति उत्तरदायी हो कि सरकार संसदप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरु होइनौँ । तर भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने हत्या गर्ने काम भएको छ त्यसको विरोधी हौँ हामी ।’

२ विपक्षी दलले विभिन्न मागहरु राखेर लामो समयदेखि संसदमा अवरोध गर्दै आइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामार्फत् भइरहेको मानव तस्करीको विरोधमा संसदमा आवाज उठाइरहेका हुन् । लामो समयदेखि विरोध जनाउँदा केही दिन दुवै दलको विरोधलाई सत्तापक्षले चासो दिए पनि अहिले भने सत्तापक्ष र सभामुखले पेलेरै संसद बैठकलाई अघि बढाइरहेका छन् ।

सरकार सत्तापक्ष र संसद प्रतिपक्षको हो भन्ने स्थापित मान्यता विपरित सरकारले आफूहरुलाई पेलेर अघि बढेको भन्दै दुवै दलहरुले आपत्ति जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?