काठमाडौं । उत्तराखण्ड राज्यको धराली सहरमा आएको घातक हिमाली आकस्मिक बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी उपकरण परिचालन गरेको छ।
मंगलबार दिउँसो मुसलधारे वर्षापछि आएको हिलो र फोहोरमैलाको पानीको भीषण लहरले साँघुरो पहाडी उपत्यकामा विनाश मच्चाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।
भारतीय सेनाले थप टुकडी, ट्र्याकर कुकुर, लजिस्टिक ड्रोन र माटो खन्ने उपकरण पठाएर उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ । सैन्य हेलिकप्टरमार्फत आवश्यक सामग्री र औषधि पुर्याउने र डुबानमा परेकाहरूको उद्धार गर्ने काम भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार यो बाढी ‘आरी घोप्टे’ किसिमको तीव्र वर्षाका कारण आएको हो । उनले उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताए । भारतीय मिडियाले प्रसारण गरेका भिडियोहरूमा हिलो पानीको प्रचण्ड लहरले भवनहरू बगाएको देखिन्छ, जसमा धेरै मानिस लहरसँगै बेपत्ता भएको देखिन्छ ।
रक्षा राज्यमन्त्री सञ्जय सेठका अनुसार चार जनाको मृत्यु भइसकेको छ भने करिब सय जना अझै हराइरहेका छन् । निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहले स्थानीयलाई उच्च स्थानमा सारिएको छ ।
मौसम पूर्वानुमान विभागले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको चेतावनी दिएको छ । घटनास्थलका तस्बिरहरूमा ढिलो गतिमा बग्ने माटोको नदी देखिन्छ, जसले शहरको ठुलो भाग डुबाएको छ । केही स्थानमा हिलोको गहिराइ ५० फिटसम्म पुगेको अनुमान गरिएको छ ।
विशेषज्ञहरूका अनुसार जूनदेखि सेप्टेम्बरसम्मको मनसुनमा बाढी र पहिरो सामान्य भए पनि जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण यस्ता घटनाहरूको आवृत्ति र तीव्रता बढ्दो छ। नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका हाइड्रोलोजिस्ट मनिष श्रेष्ठका अनुसार बाढी क्षेत्रमा २४ घण्टामा २७० मिलिमिटर वर्षा भएको छ, जसलाई ‘चरम घटना’ मानिन्छ। उनका अनुसार पहाडमा यस्तो वर्षाको प्रभाव समतल भूमिभन्दा बढी घातक हुने गर्दछ।
संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले यस्ता तीव्र वर्षा, बाढी र खडेरीका घटना जलवायु परिवर्तनको प्रत्यक्ष संकेत भएको चेतावनी दिँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया