धुलो हिलो रहित गुणस्तरीय सडक निर्माणमा सरकारको उच्च प्राथमिकता : अर्थमन्त्री पौडेल

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक पूर्वाधारको सन्दर्भमा अब केवल परिकल्पना मात्र नभई व्यवहारिक रूपमा धुलो र हिलो रहित सडक निर्माणको लक्ष्यमा सरकार अघि बढेको स्पष्ट पारे ।

उनका अनुसार सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्ग निर्माणलाई गति दिएको छ । ‘पूर्व–पश्चिम राजमार्ग भए पनि हाम्रो आवश्यकता सम्बोधन नगरेकाले काँकडभित्तादेखि कञ्चनपुरसम्म स्तरोन्नति भइरहेको छ, ‘उनले भने ।

पौडेलले सडक निर्माणमा गुणस्तरलाई विशेष प्राथमिकता दिइएको बताउँदै विगतमा शहरका सडकहरू धुलो वा हिलोयुक्त हुने प्रवृत्ति अब अन्त्य हुँदै गएको दाबी गरे । उनले शहरी पूर्वाधार सुधारमा पनि सरकारको समान ध्यान गएको उल्लेख गरे ।

त्यस क्रममा उनले तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्ने घोषणा गरे । उनका अनुसार टुकुचादेखि पश्चिमतर्फका संरचनाहरू भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बनाइनेछ ।

पौडेलले बजेट निर्माणमा जस्तै कार्यान्वयनमा पनि प्रभावकारिता आवश्यक भएको भन्दै पछिल्लो समय अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक सुधार भइरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?