काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ सालको प्रतिनिधि सभा निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले माओवादीलाई नयाँ ऊर्जा दिएको भन्दै उनले जनवर्गीय संगठन र विभिन्न मुक्ति मोर्चाहरू असाधारण तरिकाले संगठन निर्माणमा लागेको बताए ।
सापकोटाका अनुसार हुलाकी राजमार्ग अभियान र मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग अझ नजिक पुर्याएको छ । उनले अतीतमा पार्टी कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा छुट्टै अस्तित्व कमजोर भएको र त्यसले जनता, शहीद तथा बेपत्ता परिवारसँगको सम्बन्धमा दूरी आएको स्वीकार गरे ।
उनले भने, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो, धुमिल भयो। त्यसकै कारण शहीद परिवारप्रति आवश्यक ध्यान दिन सकिएन, जनतालाई पनि केही बेवास्ता भएको अनुभव भयो।’
पार्टीले समाजवादी क्रान्तिको रूपरेखा र मागचित्र स्पष्ट पारेको बताउँदै उनले २०८४ मा बहुमतका लागि विगतका कमजोरीको आत्मसमिक्षा गर्दै रूपान्तरण र शुद्धि करणको मार्गमा अघि बढेको उल्लेख गरे। महेन्द्रनगरदेखि पोखरा हुँदै सञ्चालन भएको जनसम्पर्क अभियानले पार्टीको आधार मजबुत पारेको दाबी पनि गरे ।
स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ तथा २०७९ सालको स्थानीय तह निर्वाचनका नतिजा प्रस्तुत गर्दै सापकोटाले कांग्रेस–एमाले मिल्दा पनि माओवादीले उल्लेखनीय सफलता हासिल गरेको बताए। उनका अनुसार, ‘पूर्वाञ्चलको विराटनगर डिग्री क्याम्पसमा हाम्रो विद्यार्थी संगठनले ३० वर्षपछि जित्यो, पत्रकार महासंघमा पनि उत्कृष्ट नतिजा आयो ।’
सापकोटाले माओवादीले फेरि जनताको मुद्दालाई प्राथमिकता दिन थालेको भन्दै आगामी निर्वाचनमा जनताले अग्रगमन रोज्ने र माओवादीलाई नै समर्थन गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया