काठमाडौं । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संघीय निजामती विधेयकमा भएको त्रुटीमा आफूहरु सबैको दोष रहेको बताएका छन् ।
विधेयकको दफा ८२ मा भएको कुलिङ अफ पिरियड हटाउने प्रकरणको छानबिनका लागि गठित विशेष समितिसँगको बयानमा उनले सो कुरा बताएका हुन् ।
आफूले उक्त विषय मिडियाबाट थाहा पाएको बताउँदै यसमा कोही पनि पन्छिन नमिल्ने बताए ।
‘कर्मचारीले पोलिटिसियनलाई आरोप लगाउने र पोलिटिसियनले कर्मचारीलाई दोष लगाउने गरेको देखिएको छ । नीतिगत रुपमा उक्त दफाको सम्बन्धमा कसले गर्नुपथ्र्यो । माननीयहरुले बैठकमा छलफल गर्दा त्यहाँ चिप्लिएको हुन सक्छ । समितिको प्रतिवेदन प्राप्त भइसकेपश्चात माननीयहरुले पढ्नुपर्ने थियो । उपसमितिले प्रतिवेदन दिइसकेपश्चात सबैले ट्याली गर्नुपर्ने थियो । यसमा सही दुईजनाको देखिन्छ । यसमा हामी सबै दोषी छौँ जस्तो लाग्छ,’ उनले बयानमा भनेका छन् ।
त्यसो त प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट कुलिङ पिरियड राखेरै विधेयक पारित भएको थियो । उक्त विधेयकबाट कुलिङ पिरियड हटाउन पाण्डेयसहितका विशिष्ट कर्मचारीहरुले सिंहदरबारमा दौडधुप नै गरेका थिए । त्यसबेला सभामुखलाई दबाब दिन हिँडेका पाण्डेयले सञ्चारकर्मीहरुसँग छेकिँदै मुख छोपेर समेत हिँडेका थिए ।
यता बयानका क्रममा भने पाण्डेयले आफ्नो पछाडी मिडिया लागेको र आफू कुलिङ पिरियडमा न्यूट्रल रहेको दाबी गरेका छन् ।
त्यस्तै त्यसमा आफ्नो कुनै दोष नभएको र यदी दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको समेत बताएका छन् ।
‘समितिको प्रतिवेदन कहिले आउँछ भनेर सचिवलाई सोधेको हो, तर कुलिङ पिरियडको सम्बन्धमा मैले कुनै दबाब दिएको छैन । यदी मैले दबाब दिएको देखिएमा म सजाय भोग्न तयार छु,’ उनले भनेका छन्, ‘मिडियाले कुलिङ पिरियडको विषयमा म समेत त्यसको पक्षमा रहेको भनेर समाचार बनाए । म यसमा न्यूट्रल छु । यसमा मैले गल्ती जानीजानी भयो कि अन्जानमा भयो ? त्यसमा मैले जिम्मेवार हुनुपर्छ । संसदको इज्जत जाँदा कर्मचारीको इज्जत जान्छ र कर्मचारीको इज्जत जाँदा संसदको पनि इज्जत जान्छ ।’
त्यस्तै उनले कुलिङ पिरियडमा मानवीय त्रुटी भएको उनको जिकिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया