कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घटनापछि प्रहरीले आत्महत्या दुरुत्साहनको आशंकामा उनका श्रीमान् पवन भट्ट, सासू किरण भट्ट र ससुरा हरिदत्त भट्टलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृतकका माइती पक्षको जाहेरीका आधारमा पवन भट्टलाई आइतबार नै नियन्त्रणमा लिइएको हो । सोही अनुसन्धानको सिलसिलामा सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले जानकारी दिए ।
‘आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,‘ डिएसपी बोहराले भने, ‘अदालतबाट म्याद थप गरेर तीनैजनालाई हिरासतमा राखिएको छ ।
प्राप्त जानकारीअनुसार करिब ६ महिनाअघि मात्र सम्झना र पवनबीच प्रेम विवाह भएको थियो । तर, सम्झनाका माइती पक्षले विवाहपछि उनलाई निरन्तर घरेलु हिंसा, दाइजोको निहुँमा यातना र मानसिक तनाव दिइएको आरोप लगाएका छन् । यिनै कारणले सम्झनाले आत्महत्या गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।
मृत्युअघि, शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । सो झगडापछि उनीहरू बेलडाँडी प्रहरी चौकी पुगेका थिए । प्रहरीले दुबैलाई सम्झाएर घर पठाएको थियो । तर, भोलिपल्ट आइतबार बिहान सम्झना आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
हाल सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया