भिजिट भिसाबारे आन्दोलनलाई सरकार र संसदले चासो देखाएन : सांसद सिंह

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणलाई लिएर सरकार गम्भीर नदेखिएको गुनासो गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आन्दोलन सुरु भएको ७० दिन बितिसक्दा समेत सरकार र सभामुखले चासो नदेखाएको आरोप लगाए ।

उनका अनुसार राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठक बहिष्कार गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । तर, आन्दोलनको लामो समय बितिसक्दा पनि सरकारले न त सुनुवाइ गरेको छ, न त समाधानको पहल गरेको छ ।

‘हामीले आन्दोलन सुरु गरेको ७० दिन बितिसक्यो,‘सिंहले भने, ‘तर न सरकारले चासो देखाएको छ, न सभामुखज्यूले नै सुनुवाइ गर्नुभएको छ। यसले हामीलाई गम्भीर निराशा दिएको छ ।’

सिंहले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेप्रति पनि आपत्ति जनाए । ‘हिजो भर्खरै कांग्रेसका प्रमुख सचेतकले भिजिट भिसाका नाममा संसद् अवरुद्ध गर्नेहरूलाई प्रतिवादमा उत्रिनुपर्ने बताएका छन्,‘उनले भने, ‘के सरकारको सुशासन भनेको यही हो ?’

उनले भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँ असुली भइरहेको आरोप लगाउँदै भने, ‘हाम्रा छोराछोरीलाई विदेश पठाउने, तर त्यही भिजिट भिसामा गएकाहरू समस्यामा पर्दा सरकार बेखबर रहने ? के यही दिनको लागि हामीले गणतन्त्र ल्यायौँ ?’

सांसद सिंहले देशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । साथै, उनले संसद् बैठक बहिष्कार गरेका दिनको भत्ता नलिने घोषणा गर्दै आफ्ना पार्टीका सबै सांसदहरूले त्यसको पालना गर्ने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?