सोलर ब्याट्रीले माग धाने हाइड्रोको विकल्प खोज्न जरुरी छैन : हितेन्द्रदेव शाक्य

लोकपथ
2.9k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलर र ब्याट्री प्रविधिले विद्युतको आवश्यकता धान्न सक्ने अवस्था बने हाइड्रो पावरमा जोड दिनुपर्ने बाध्यता नरहने स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले राति विद्युतको माग धेरै नरहेको र दिउँसो–साँझको माग सोलर र ब्याट्रीले धान्न सक्ने हो भने ठूलो लगानीमा जलविद्युत परियोजना निर्माणको आवश्यकता नपर्ने बताए ।

‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने होइन, डिमाण्ड धान्न सक्यो भने हुन्छ,’ शाक्यले भने, ‘सोलर र ब्याट्रीबाट दिउँसो र साँझको माग पुरा भयो भने हामी हाइड्रोको पछि लाग्न जरुरी छैन ।’

उनले औद्योगिक क्षेत्रमा अहिले खासै विद्युत खपत नभएको उल्लेख गर्दै भविष्यको मागको पूर्वतयारी सन्दर्भमा सोलर र ब्याट्री प्रविधिको अधिकतम उपयोगमा जोड दिए ।


शाक्यले सिंचाइका लागि प्रयोग हुने विद्युतमा चोरी हुने समस्या देखिएको उल्लेख गर्दै त्यस्ता ठाउँमा सोलर पम्प राखेर मिटर जडान गर्नुपर्ने धारणा राखे । ‘भारतको अनुभवले पनि देखाएको छ, मिटर जडान गरेपछि चोरीको सम्भावना न्यून हुन्छ,’ उनले भने ।

उनका अनुसार तराई र पहाडी क्षेत्रको सिंचाइमा सोलर प्रविधि अनिवार्य रुपमा समावेश गर्नुपर्ने समय आएको छ ।

शाक्यले देशभरका धेरै स्थानीय तहले विद्युत प्राधिकरणबाट सडक पोलमा बत्ती जडान गराए पनि वर्षौँसम्म वक्यौता नतिरेको गुनासो गरे । ‘बजेटमा नगरहरुले विद्युत तिर्ने व्यवस्था नै नगर्ने गरेका छन्,’ उनले भने ।

त्यसका समाधानस्वरूप अब पालिकाहरूले आफ्नै खर्चमा सोलर बत्ती जडान गर्नुपर्ने र त्यसबाट उत्पादन भएको विद्युत प्राधिकरणले खरिद गर्ने व्यवस्था मिलाइने उनले बताए ।

शाक्यका अनुसार सोलर उत्पादनलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी पनि भइरहेको छ । प्रशारण लाइन नजिकै सोलर राख्ने, र प्रशारण भित्र परेका जग्गाको सदुपयोग गर्ने योजनाअनुसार प्राधिकरण अघि बढिरहेको उनले जानकारी दिए ।

उनले खिम्ती क्षेत्रमा पाइलट प्रोजेक्टका रूपमा यस्तो योजना कार्यान्वयनमा आइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?