पाँच दिनदेखि बेपत्ता नाबालक दाजु बहिनी खोला किनारमा मृत भेटिए 

लोकपथ
630
Shares

काठमाडौं । पाँच दिनदेखि बेपत्ता पाँचथरको याङवरक गाउँपालिका–१ बिरूवाका १० र ६ वर्षीया दाजुबहिनी मृत फेला परेका छन् ।

साउन १५ गते बिहानदेखि हराइरहेका बिरूवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव आज मंगलबार बिहान बिरुवा खोलामा फेला परेको याङवरक गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए । उनका अनुसार, ती नाबालक दाजु बहिनीको शव खोलाको किनारमा करिब २०० मिटरको अन्तरमा फेला परेको हो ।

बहिनीको केही तल र दाजुको केही माथि खोला किनारमा शव भेटिएको हो । मृतक शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे ।

ती दाजु बहिनीलाई १५ गते बिहान करिब ६ बजे बाबु बिर्खबहादुरले हजुरआमा कहाँ गएर खाना खाई विद्यालय जानु भनेर पठाएका थिए । उनीहरू कहिले हजुरआमासँग त कहिले बाबु बिर्खबहादुरसँग बस्दै आएका थिए । गाउँमै खेती किसानी गर्दै आएका बिर्खबहादुरकी श्रीमती भने वैदेशिक रोजगारीमा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रबार बिहान उनीहरू हजुरआमाकोमा खाना खाएर विद्यालय हिँडेका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले उनीहरू स्कुल भने नपुगेको तामाङले बताए । प्रहरी निरीक्षक तामाङले घटनाको अनुसन्धान सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको बताए ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?