काठमाडौं । विद्युत आपूर्तिको माग दिनप्रतिदिन बढ्दै गएको भन्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सौर्य उर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले देशका सबै नागरिकसम्म उज्यालो पुर्याउने कार्यमा सौर्य उर्जा महत्त्वपूर्ण विकल्पका रूपमा देखिएको बताए ।
उनले भने, ‘नेपाल सरकारले विद्युतमार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पूर्ण रूपमा सम्पन्न गर्न नसकेको अवस्थामा सौर्य उर्जामार्फत विकट क्षेत्रसम्म सेवा पुर्याउनु सराहनीय विषय हो ।’
मन्त्री खड्काले सरकारले सिंचाई गर्न नसकेका भूभागहरूमा सौर्य पम्पिङ प्रणालीमार्फत सिंचाईको व्यवस्था हुनु सकारात्मक प्रगति भएको बताए।
उनका अनुसार देशमा विद्युतको माग र आवश्यकता तीव्र रूपमा बढ्दो छ भने अर्कोतर्फ वातावरणीय चुनौतीहरू पनि थपिँदै गएका छन्। ‘विद्युतको खपत, उपयोग, आपूर्ति भरपर्दो र सुरक्षित बनाउनु आजको आवश्यकता हो। त्यसका लागि गम्भीर गृहकार्य आवश्यक छ,‘उनले भने ।
सरकारले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराउँदै मन्त्री खड्काले यो लक्ष्य पूरा गर्न निजी क्षेत्र, लगानीकर्ता र सरोकारवालाहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
उनले विद्युत उत्पादनलाई नागरिक र राष्ट्रको आय आर्जनसँग जोड्ने रणनीतिमा सरकार अगाडि बढिरहेको पनि बताए ।
‘सबै नागरिकलाई उज्यालो दिनु र अतिरिक्त विद्युत विक्री गरेर देशको अर्थतन्त्रमा योगदान पुर्याउनु सरकारको प्रमुख उद्देश्य हो,’ मन्त्री खड्काले भने ।
अन्तमा, उनले वातावरणीय असरलाई मध्यनजर गर्दै सौर्य तथा अन्य नवीकरणीय उर्जाको विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया