काठमाडौं । पछिल्ला केही घण्टायता बाँके, बर्दिया र दाङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रेकर्ड स्तरको वर्षा भएको हो ।
सबैभन्दा बढी दाङको जलकुण्डी वर्षामापन केन्द्रमा २२७ मिमि वर्षा मापन गरिएको छ । यस्तै, बाँकेको सिक्टामा २०० मिमि र बर्दियाको मानपुरमा १६७ मिमि वर्षा भएको विभागले जनाएको छ।
दाङमा पछिल्लो एक घण्टामै २५ मिमिभन्दा बढी वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा भएकोमा बर्दियामा धेरै भारी वर्षाको श्रेणीमा परेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार, आज दिउँसो र राति पश्चिम नेपालमा अझै बढी वर्षा हुने सम्भावना छ । यद्यपि, अन्य प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने उनले जानकारी दिए।
उनका अनुसार सानो तर प्रभावशाली वर्षा गराउने प्रणाली विकसित भएकोले पश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना उच्च देखिएको हो। साथै, हाल मनसुनको न्यून चापीय प्रणाली नेपालभरि नै सक्रिय रहेकाले आगामी केही दिनसम्म मनसुन अझै सक्रिय रहने संकेत देखिएको छ।
पछिल्ला ६ घण्टामा दाङका तुलसीपुर, अम्बापुर, जलकुण्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा र बर्दियाको मानपुर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। ती क्षेत्र भएर बग्ने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोला तथा अन्य साना खोलामा आकस्मिक बाढी आउने र होचा भू(भाग डुबानमा पर्ने जोखिम रहेकाले बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रको उत्तरतिर अवस्थित छ, जसका कारण अधिकांश स्थानमा बदली रहेको र विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान अनुसार आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशसहित देशभर मनसुन सक्रिय रहने विभागले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया