काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म निरन्तर प्रयास गर्दा पनि स्वास्थ्य क्षेत्रको जनशक्ति बढाउन नसकेको गुनासो गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल औषधि उत्पादक संघको ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको गम्भीर विषय उठाए ।
उनका अनुसार २०४८ सालपछिको अवधिमा नेपाली सेना, प्रहरी र निजामती सेवा क्षेत्रमा जनशक्ति उल्लेख्य रूपमा वृद्धि भएको भए पनि स्वास्थ्य क्षेत्रमा भने कुनै सुधार देखिएको छैन ।
‘पूर्वराष्ट्रपति डा.रामवरण यादवको पालापछि आजसम्म स्वास्थ्य क्षेत्रमा जनशक्ति बढेको छैन, ‘मन्त्री पौडेलले भने, ‘१३ महिना भयो मैले यसको लागि प्रयास गरेको, अझै पनि डिबेट गरिरहनुपरेको छ ।’
उनले सरकारबाट छात्रवृत्तिमा पढेर योग्य बनेका डाक्टरहरूलाई समेत आवश्यकताका बाबजुद काममा नियुक्त गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । ‘हामी दक्ष जनशक्ति बनाउँछौँ, तर त्यो जनशक्तिलाई विदेश पटाउँछौँ। नेपाल यति सक्षम देश हो कि दक्ष जनशक्ति उत्पादन गरेर विदेश आपूर्ति गर्छ, ‘उनले टिप्पणी गरे ।
स्वास्थ्य उपचार सेवाबाट अझै पनि करिब ५० लाख नागरिक वञ्चित रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारी लगानी न्यून रहेको औँल्याए । ‘सरकारले जम्मा ५ प्रतिशत पनि स्वास्थ्य क्षेत्रमा लगानी गरेको छैन, ‘उनले बताए ।
कार्यक्रममा उनले औषधिको मूल्य निर्धारणको आवश्यकता र औषधि क्षेत्रमा सुशासन अपरिहार्य रहेको पनि उल्लेख गरे । साथै, स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित बनाउने सरकारको प्रयासबारे पनि जानकारी गराए ।
राजनीतिप्रतिको जनविश्वास खस्किनुमा सेवा प्रवाहको कमजोरी प्रमुख कारण रहेको मन्त्री पौडेलको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया