बागमतीमा एमालेका ६ जना मन्त्रीको टुंगो लाग्यो, कांग्रेसको बाँकी

बानियाँले आज ४ बजे मुख्यमन्त्रीको शपथ लिँदै

लोकपथ
5.5k
Shares

काठमाडौं । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने ६ जना मन्त्रीको टुंगो लगाएको छ । जसमा ५ जना नयाँ अनुहारका छन् । एक जना दोहोरिएका छन् । 

एमालेले भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसूदन पौडेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंगो लगाएको हो । यसै गरी दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । उनै सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज मुख्यमन्त्रीको शपथ लिँदैछन् । लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएपछि बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।  

आज दिउँसो ३ बजे बानियाँ मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका छ । 

आज कांग्रेसबाट धादिङका शिवराज अधिकारीको शपथ हुने पक्कापक्की जस्तै छ । लामाले नियुक्त गरेकामध्ये कुनै एक मन्त्री र अरू केही मन्त्री थप्ने या दुई जनाको मात्रै शपथ गर्ने भन्नेबारे कांग्रेसमा छलफल छलिरहेको छ । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय दिने तयारी छ । 

निवर्तमान मुख्यमन्त्री लामाले अल्पमतमा परेपछि गरेको ३ मन्त्री नियुक्तिमा रोकिएको शपथमा उनीहरू मन्त्री कायम रहने भनेर सहमति भएको भनिए पनि उनीहरूको आज शपथबारे कांग्रेस निधोमा पुगेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?