काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा ठूलो संख्यामा प्राविधिक जनशक्ति थप्ने तयारी गरेको छ ।
मन्त्रालयले सबै खालका जटिल रोगहरुको उपचार पहुँच विस्तार गर्ने उद्देश्यका साथ तयार संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअनुसार देशभर २१ सय प्राविधिक जनशक्ति थप गर्न लागेको हो ।
त्यस विषयमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको र उक्त छलफल सकारात्मक भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलका अनुसार लामो समयदेखि अघि बढ्न नसकेको जनशक्ति थप गर्ने यस प्रक्रियाले अब चाँडै सार्थक निष्कर्ष प्राप्त गर्नेछ ।
पाँच वर्षसम्म हरेक वर्ष निरन्तर जनशक्ति थप गर्ने योजनाअनुसार १२ हजार बढी स्वास्थ्य जनशक्ति थप हुनेछन् । यसले हाम्रा संघीय अस्पतालहरुमा बढिरहेको चाप व्यवस्थापन गर्दै नागरिकलाई सेवा प्रदानमा सहजता साथै रोजगारी सिर्जनामा मद्दत पुग्ने विश्वास रहेको मन्त्री पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया