…अनि वडाध्यक्षसँग सिन्धुली नै फर्किन् तयार भए हायु परिवार

लोकपथ
2.3k
Shares

काठमाडौं । गत साउन ८ गते एकाएक गायब भएका सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ का हायु परिवार पोखराबाट सिन्धुली नै फर्किने भएका छन् ।

एकाएक १६ जनाको परिवार नै गायब भएपछि खोजी गरिएको थियो । उनीहरु पोखरामा पुगेर बसेको अवस्थामा प्रहरीले फेला पारे पनि उनीहरु सुरुमा पुरानै थलोमा फर्किन तयार भएनन् । स्थानीय जनप्रतिनिधि समेत त्यहाँ पुगेर उनीहरुलाई सम्झाएपछि उनीहरु फर्किन राजी भएका हुन् ।

उनीहरु पोखरा पुगेको थाहा पाएपछि गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ त्यहाँ पुगेका थिए ।

उनीहरुले आफूहरुलाई बस्दै आएको घरमा तर्साउने गरेको र बच्चाहरु समेत बिरामी हुन लागेपछि रातारात भागेको बताएका थिए । त्यसो त उनीहरु बसिरहेको घर अन्य छिमेकीको घरबाट टाढा थियो । अनकन्टार जंगलमा घर रहेका कारण बच्चाबच्चीहरु बिरामी परिरहने कारण जीवनयापन गर्न कठिन भएपछि उर्मिला हायुले परिवारसहित थाकथलो छाड्ने निर्णय गरेकी थिइन् ।

उनीहरु आफूहरु त्यहाँ बस्न नसक्ने बताएपछि वडाध्यक्ष श्रेष्ठले त्यस स्थानमा बस्न नपर्ने आफूले अन्य व्यवस्था गर्ने बताएपछि फर्किएका हुन् । अहिले उनीहरुलाई लिएर मुग्लिन आएको वडाध्यक्ष श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

‘अहिले म उहाँहरुलाई लिएर मुग्लिन आइपुगेको छु, अब उहाँहरुलाई नयाँ घर बनाएर राख्नेछु । नयाँ बासको व्यवस्था नहुन्जेल मैले मेरै घरमा राख्ने भनेको छु,’ श्रेष्ठले लोकपथसँग भने ।

त्यस्तै उनीहरु बिरामी परेर मात्र नभइ ऋणका कारण पनि थाकथलो छाडेको उनले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार उनीहरुको परिवारलाई ८ लाख ऋण छ ।

‘एक त त्यस ठाउँमा बिरामी भएको कारणले त्यस ठाउँ छाड्नु भएको रहेछ, अर्कोतिर उहाँहरु ऋणमा पनि भएको कुरा थाहा पाएँ,’ उनले भने, ‘जीवनयापनका लागि ८ लाख ऋण लागेको र तिर्न कठिन भएपछि घर छाड्नुभएको रहेछ ।’

लोपोन्मुख हायु परिवारलाई सरकारले मासिक रुपमा प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्ता दिँदै आइरहेको छ ।

पछिल्लो जनगणना अनुसार एकदम कम मात्रै हायु समुदाय रहेका कारण प्रोत्साहनस्वरुप भत्ता उपलब्ध गराउने गरेको थियो ।

त्यसो त घर छाड्नुभन्दा केही दिनअघि पनि उनीहरुले वडाबाट भत्ता बुझेका थिए । भत्ता बुझेको साँझ घरमा पार्टी गरेर उनीहरु एकाएक गायब भएका थिए ।

वडाध्यक्ष श्रेष्ठले आफूले सकेको जति सहयोग गरेर उनीहरुको जीवनयापनका लागि सहजता प्रदान गर्ने लोकपथलाई बताए ।

‘जनप्रतिनिधि भएपछिको मेरो दायित्व अन्तर्गत मैले काम गरेको हुँ । उहाँहरुको जीवनयापनमा सहजता प्रदान गर्न कुनै कसर बाँकी राख्दिन्,’ उनले भने ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उनीहरु सो स्थानमा ४० वर्षदेखि बस्दै आइरहेका थिए । आफ्नो धेरै जग्गाजमिन समेत नहुँदा अरुको जग्गा कमाएर गुजारा गर्न बाध्य बनेका थिए ।

यो पनि…

एकाएक गाउँबाट १६ जनाको परिवार नै गायब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?