काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन इतर समूहको बैठक बसेको छ ।
अहिले हात्तिसारस्थित नेपाल युनियन हाउसमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट पक्षको बैठक जारी रहेको हो ।
बैठकमा सहभागि एक नेताका अनुसार उक्त बैठकमा महामन्त्री डा. धवलशमशेर राणासहित ७ पदाधिकारी रहेका छन् । उक्त बैठकमा राप्रपाभित्र लिङ्देनले चलाएको कारबाही र त्यसबाट पार्टीमा पर्न सक्ने असरसहित आगामी रणनीतिबारे छलफल भइरहेको ती नेताले लोकपथलाई जानकारी दिए ।
आजको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्ति शाही, उपाध्यक्षबाट निकालिएका मुकुन्दश्याम गिरी, सह महामन्त्री रविन्द्र प्रताप शाह, प्रवक्ताबाट निकालिएका सगुन लावति, सहमहामन्त्री ऋषि देवकोटा, सहायक प्रवक्ता प्रविण थोकर समेत सहभागि रहेका छन् ।
त्यस्तै बैठकमा दुई प्रवेशका अध्यक्ष समेत रहेका छन् । जसमा बागमती प्रदेशका अध्यक्ष बिक्रम थापा र कर्णाली प्रदेशका अध्यक्ष दिपबहादुर शाही रहेका छन् ।
त्यस्तै सहायक महामन्त्रीहरु सौरेन्द्र शाह र प्रेम बलायर सहभागि रहेको ती नेताले जानकारी दिए । यता कर्ण शाहीसहित कार्यसम्पादन सदस्य १५ जना
र जगत गौचनसहित ७० जना केन्द्रीय सदस्य रहेका छन् ।
आजको बैठकले अध्यक्ष लिङ्देनलाई गल्ती सच्याउन अनुरोध गर्ने र तत्काल कार्यसम्पादन समिति बैठक नबोलाए ३३ प्रतिशत केन्द्रीय सदस्यले लिखित रुपमा बैठक बोलाउन बाध्य बनाउनेबारे छलफल भइरहेको ती नेताले बताए ।
संस्थापन इतर समूहमा रहेका पूर्वअध्यक्ष एवं वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी भने आजको बैठकमा सहभागि भएका छैनन् ।
लिङ्देनले पार्टीबाट धेरै नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि संस्थापन इतर समूहले सामूहिक रुपमा प्रतिवाद गर्दै आइरहेको छ । त्यसो त संगठन विभाग प्रमुखबाट नवराज सुवेदीलाई हटाएपछि असन्तुष्ट नेताहरुले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया