निर्माणाधीन संसद् भवनको कार्यप्रगतिबारे सांसदहरु निराश : पुस १६ भित्रै सकिने छैन आधार

लोकपथ
574
Shares

काठमाडौं । सांसदहरुले निर्माणाधीन संसद् भवनको काम म्याद थप भएको मितिमासमेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् । सोमबार निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले यस्तो आशंका गरेका हुन् ।

सरकारले आयोजनाको १४औँ संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरु गर्न बाँकी रहेको सांसदहरुले बताए ।

समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे । अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराए । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाए । 

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले पटक पटक म्याद थप भए पनि काम सन्तोषजनक नरहेको बताइन् । उनले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरे । 

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको  बताए । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उनको भनाइ छ । 

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताए । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै प्रश्न गरे ।

नयाँ निर्माणाधीन संसद् भवन निर्माण आयोजनाका निर्देशक सुनिलकुमार ठाकुरले आयोजनाको १४औँ संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बताए । सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त  गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?