खोटाङ । हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
दुर्घटनाका घाइतेमध्ये ६ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताए । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचाररत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो संख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । माइक्रोबस दुर्घटना हुँदा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया