प्रेस काउन्सिलमा उजुरीको थुप्रो, ४ वटा सञ्चारमाध्यम कालोसूचीमा

लोकपथ
252
Shares

काठमाडौं । नेपाली मिडियाहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्षमा गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिलले गत आर्थिक वर्ष ०८१–०८२ मा ३४० उजुरी र १० वटा जनगुनासाहरु दर्ता भएको र ३६३ वटा सामग्रीको स्वअनुगमन गरेको जनाएको छ ।

त्यस्तै यसमा १५८ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, १४७ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, ९ वटा पेसागत आचरण विपरित (बागेर्निङ,धम्की लगायत), १३ वटा हुबहु कपिपेस्ट र अन्य १३ वटा अन्य उजुरी रहेका छन् ।

काउन्सिलका अनुसार उजुरी परेकामध्ये २०२ वटा अर्थात् ५९.४१ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । त्यस्तै अघिल्लो आर्थिक वर्ष ०८०–०८१ को प्रक्रियामा रहेकामध्ये १२० वटा उजुरीमध्ये ११८ वटा उजुरीहरु यस आवमा फछ्र्यौट भएका छन् ।

यता काउन्सिल आफैँले स्वअनुगमन गरेको ३६३ मध्ये ३६१ वटा उजुरी फछ्र्यौट भएका छन् । आचारसंहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १२ वटा सञ्चार माध्यमलाई कालोसूचीमा राखि कारबाही अघि बढाइएको थियो । तर पछि क्षमायाचना र आचारसंहिता पालनामा प्रतिबद्धता, अवज्ञाकारी/कालोसूची फुकुवाको निमित्त आवेदन दिएपछि ८ वटाको कालोसूची फुकुवा गरिएका छन् । भने बाँकी ४ वटा सञ्चारमाध्यम कालोसूचीमा नै रहेको काउन्सिलले जनाएको छ ।

त्यस्तै काउन्सिलले यस आर्थिक वर्षमा युट्युब च्यानलमाथि निगरानी र कारबाही अघि बढाइएको जनाएको छ । साथै जनमानसमा नकारात्मक भ्रम फैलाउने अनलाइन तथा युट्युब च्यानल सञ्चालकमध्ये कतिपयलाई सचेत त कतिपयलाई कारबाही समेत गरिएको काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?