काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । सभापति परियारले समितिलाई प्राप्त चार वटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा भएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमाथि छानबिन गर्न समिति गठन गरेको थियो । प्रारम्भमा समितिलाई २१ दिनको समय दिइएको थियो ।
उक्त समय साउन ११ गते सकिएपछि समितिले थप ७ दिनको समय पाएको थियो । छानबिन गर्न थपिएको म्याद आज सकिँदैछ । समितिमा नेपाली कांग्रेसका सांसद जीवन परियार (सभापति) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया