परराष्ट्रमन्त्री राणाको गुनासो : ‘नर्सिङ क्याम्पसले क्युएए नपाउनु व्यक्तिगत र राजनीतिक प्रतिशोध हो’

लोकपथ
805
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसले गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नपाएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

आइतबार क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि शैक्षिक संस्थालाई व्यक्तिगत रिस वा राजनीतिक प्रतिशोधका आधारमा क्युएए नदिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरिन् ।

‘क्युएएको महत्त्व म राम्रोसँग बुझ्छु। यत्रो क्याम्पसले सानो सानो बहाना देखाएर क्युएए नपाउनु उचित होइन, ‘मन्त्री राणाले भनिन्, ‘मापदण्डहरू पूरा गर भन्न सक्नुपर्छ, या त प्रमाणपत्र दिन सक्नुपर्छ ।’

उनले नर्सिङ शिक्षाको महत्वलाई उच्च मूल्यांकन गर्दै भनिन्, ‘चिकित्सकले सर्जरी गर्न सक्छन्, तर नर्सले त जीवनकै स्याहार गर्छन्। विदेश जाने नर्सहरू उज्वल भविष्यका लागि गएका हुन्, तर उनीहरूले त्यहाँ अनुभव बटुलेर देश फर्किनुपर्छ। नेपाललाई उनीहरूको धेरै आवश्यकता छ ।’

मन्त्री राणाले विदेशमा जान अनुमति पाएका ६२८ विद्यार्थीमध्ये ५७५ जना विदेश गइसकेको तथ्यांक प्रस्तुत गर्दै देशभित्रै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्। ‘यदि यहाँ अवसर दिन सक्दैनौ भने उनीहरूको उज्ज्वल भविष्य रोक्न सकिँदैन,‘उनले भनिन्।

कार्यक्रमको क्रममा उनले आफ्नो स्वास्थ्य अनुभव पनि बाँडेकी थिइन् । उनले अहिलेसम्म ९ पटक सर्जरी भइसकेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग हल्का मजाक गर्दै भनिन्, ‘प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भइसकेको रहेछ, हाम्रो सर्जरीमा पनि प्रतिस्पर्धा रहेछ जस्तो छ ।’

कार्यक्रममा उपस्थित विद्यार्थी तथा शिक्षकहरूले मन्त्री राणाको टिप्पणीलाई क्याम्पसप्रतिको चासो र प्रतिबद्धताको संकेतका रूपमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?