हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा आइतबार आफ्नो पदबाट सशर्त राजीनामा दिने भएका छन्। शनिबार सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भएको छलफलपछि यस्तो निर्णय भएको हो।
प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार, मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त गरेका तीन मन्त्री गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा राजीनामा दिने सहमति भएको छ ।
चित्रकारले भने, ‘हामीले तीन मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ र सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो। त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय गरेका छन्।’
आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा छन् । साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामा पक्षमा रहेको सांसदहरूले राजीनामा दिन दबाब बढाएको थियो ।
सभापति देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर पार्टीलाई नयाँ बाटो दिन आग्रह गरेका थिए। शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए र पार्टीभित्रको विभाजन मिलाउने विषयमा सहमति भएको पनि चित्रकारले बताए ।
तर, प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने हालसम्म अस्पतालबाट डिस्चार्ज भएका छैनन्। मूत्र थैलीमा संक्रमण भएपछि गत बिहीबार ग्राण्डी अस्पताल काठमाडौंमा भर्ना भएका देवकोटा अहिले उपचाररत छन्।
यस घटनापछि बागमती प्रदेशको राजनीतिक अवस्था थप संवेदनशील बन्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया