काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।
निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आयोगलाई यस्तो प्रस्ताव अघि सारेका हुन् ।
उनले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै परदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न सक्ने व्यवस्था पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न आग्रह गरे ।
उनले भने, ‘निर्वाचन हुन अझै तीन महिना बाँकी रहेको यो समयमा एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदानको प्रविधि र कानुनी संरचना स्क्र्याचबाट निर्माण गरी परीक्षण गर्न पर्याप्त समय छ ।’
आचार्यले विदेशमा बस्ने नेपालीले नेपाली नोट चलाउन सक्ने तर भोट हाल्न नपाउने अवस्थाको अन्त्य गर्न निर्वाचन आयोग गम्भीर भए त्यसको प्रमाण यही उपनिर्वाचनबाट दिनुपर्ने चुनौती दिए ।
‘यदि आयोगले तीन महिनामा एउटा निर्वाचन क्षेत्रमा पनि यो व्यवस्था गर्न सक्दैन भने स्पष्ट रूपमा भन्नुपर्छ– हामी २०८४ त के, २०८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौं वा गर्न सक्दैनौं, ‘उनले भने।
रास्वपाले लामो समयदेखि वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने व्यवस्था गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया