काठमाडौंमा गुण्डाविरुद्ध प्रहरीको कडा अपरेशन जारी

लोकपथ
532
Shares

काठमाडौं । काठमाडौं प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न व्यापक अपरेशन सञ्चालन गरिरहेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले काठमाडौं उपत्यकामा गुण्डाहरूको गतिविधि निस्तेज पार्न विशेष अभियान जारी रहेको बताएका छन् ।

‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, अपरेशन निरन्तर छ,‘एसएसपी अधिकारीले भने, ‘अवाञ्छित गतिविधिमा संलग्नहरूको नामावली तयार भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदैछ ।’

उक्त अभियान अन्तर्गत शुक्रबार राति महाराजगञ्जस्थित होटल साम्बालामा प्रहरीले छापा मार्दै ४७ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये कुख्यात भनिने चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको गतिविधि गरेको अभियोगमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

अन्य २८ जनालाई भने प्रहरीमा नियमित हाजिरी गर्ने सर्तमा छाडिएको छ । तर उनीहरूमाथि समेत अनुसन्धान जारी रहेको एसएसपी अधिकारीले बताए । ‘छाडिएकाहरूको हकमा पनि अनुसन्धान जारी नै छ । १९ जनामाथि अन्य उजुरी आउनसक्ने भएकाले जो कोहीले उजुरी दिन सक्ने व्यवस्था गरिएको छ,‘अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहकार्यमा भइरहेको यो अपरेशनले राजधानीमा फैलिँदै गएका संगठित आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने लक्ष्य लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?