अध्यक्ष नेपाललाई नेता खनालको प्रश्न– ‘तानाशाह बन्न खोज्नुभएको हो ?’

लोकपथ
763
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनीमाथि ‘तानाशाह बन्न खोजेको’ आरोप लगाएका छन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपाल आक्रोशित बनेका थिए । सो अभिव्यक्तिको प्रतिवादस्वरूप अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘पार्टी छोडेर जान सक्ने’अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष नेपालको यस्तो सार्वजनिक भनाइप्रति आपत्ति जनाउँदै नेता खनालले उक्त अभिव्यक्तिलाई अशोभनीय, गैर–जिम्मेवार र तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन् । उनले भने, ‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन । यदि मेरो अभिव्यक्तिबाट असहमति छ भने बैठकमा बहस गरेर कुरा राख्न सकिन्थ्यो, तर सार्वजनिक रूपमा पार्टी छोड्नू भन्ने आदेश तानाशाही हो ।’

खनालले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको पक्षमा काम गर्न सकिएन भनेको मात्रै हुँ । त्यसकै जवाफमा पार्टी छोड भनेर धम्की दिने अध्यक्षलाई मेरो प्रश्न छ । यस्तो तानाशाह बन्न खोजेको हो ?’ खनालको तीव्र प्रश्न थियो ।

नेकपा एकीकृत समाजवादी भित्र यस्ता आरोप–प्रत्यारोप र सार्वजनिक असमझदारीले आन्तरिक संकट थप चुलिएको देखिएको छ । आगामी दिनमा यसले पार्टी एकतालाई कति असर पुर्‍याउनेछ भन्ने विषयमा चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?