अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

लोकपथ
35
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले युवाहरूलाई सूचना प्रविधिमा दक्ष बनेर सिर्जनात्मक भविष्य निर्माण गर्न आह्वान गरेका छन् ।

काठमाडौंमा आज आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा सूचना प्रविधिका क्षेत्रमा प्रचुर सम्भावना रहे पनि संरचना, नीति र जनशक्तिको अभावले त्यसलाई व्यवहारमा उतार्न कठिनाइ भइरहेको बताएका हुन् ।

‘देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको खाँचो छ । यस क्षेत्रमा रोजगारको सम्भावना पनि प्रशस्त छ,‘उनले भने, ‘सूचना प्रविधिमा लक्ष्य निर्धारण गरेर अघि बढ्ने सिर्जनशील युवाहरूका लागि नेपालमै रोजगारीको अवसर बिस्तारै सिर्जना हुँदैछ ।’

उनका अनुसार सूचना प्रविधिमा अबको विकासको मूल आधार बन्ने छ। ‘यो वर्ष हामी सूचना प्रविधिका संरचना निर्माण, फोर जी घर–घरमा पुर्‍याउने र फाइभ जी सेवा सुरु गर्ने तयारीमा छौँ, ‘मन्त्री गुरुङले थपे, ‘अबको समृद्धि सूचना प्रविधिबाट नै सम्भव छ ।’

नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले सूचना प्रविधिको विकासले विभिन्न देशहरूलाई तीव्र रूपमा अघि बढाएको उल्लेख गर्दै नेपालले पनि त्यसबाट पछाडि नपर्ने दृढता व्यक्त गरे । कार्यक्रममा विभिन्न प्रविधिमैत्री प्रोजेक्टहरूको प्रदर्शनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?