संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले संखुवासभाजिल्लालाई जलविद्युतको केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु अपरिहार्य रहेको बताएका छन् ।
खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन गर्दै मन्त्री खड्काले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित जलविद्युत् आयोजना निर्माणको चरणमा रहेकाले यसबाट स्थानीय युवाले प्रत्यक्ष लाभ लिन सक्ने अवसर पहिचान गर्न आग्रह गरे ।
उनले भने, ‘जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता हो । सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो ।’
ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जानकारी दिँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रमा आवश्यक सीप विकास तालिम सञ्चालन गरिने उल्लेख गरे ।
कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, प्रशिक्षक तथा युवाको उल्लेख्य उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया